नेपाल चेम्बर र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)बीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा आइतबार भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।
पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनिँया लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
चिनियाँ निजी क्षेत्रसंग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे समेत चेम्बरले उच्चस्तरिय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी बर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए ।
अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गरेका थिए ।
‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपुर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु’ अध्यक्ष मल्लले भने ।
सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपुर्ण हुने उहाँको भनाई छ ।
अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरुमा पुर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड समेत दिए ।
नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलन सम्बन्धी सहमति महत्वपूर्ण भएको बताए । नेपालमा पूर्वाधार विकास, पर्यटन, जल विद्युत लगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए ।
सहमति पत्रमा हस्ताक्षर गर्ने क्रममा चेम्बर अध्यक्ष मल्ल सहित निर्वतमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो ।