सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले ६ लाख ५८ हजार ४४९ रुपैयाँ भ्रष्टाचार भएको भन्दै सोही रकम बराबरको बिगोसहित उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले तत्कालिन प्रमुख प्रशासकिय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपत्र दायर गरेको हो । मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्येको एक योजना जनता मावीको भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने निवेदनमा अनुसन्धान गर्दा उनीहरुले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीका लागि स्वीकृत भएकोभन्दा बढि ६ लाख ५८ हजार ४४९ रुपैयाँ भुक्तानी दिएको भन्द्र भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

मरासेनी र चौधरीसँगै जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध पनि भ्रष्टाचार भएको रकम बराबरको बिगो राख्दै मुद्दा दायर गरिएको छ ।


क्लिकमान्डु