‘ओट्टिस’लाई लोकसेवा आयोगले सोध्यो स्पष्टीकरण- परीक्षार्थीको विवरण कसरी प्राप्त भयो ?
काठमाडौं । लोकसेवा आयोगको परीक्षा दिने उम्मेदवारहरुलाई म्यासेज पठाएको विषयमा लोकसेवा आयोगले केही समयअघि लोकसेवासम्बन्धी कक्षा सञ्चालन गर्ने एक इन्स्टिच्युटलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले केही समयअघि भएको कम्प्युटर अपरेटरको परीक्षाभन्दा अघि परीक्षार्थीलाई सन्देश पठाएको ‘ओट्टिस’लाई स्पष्टीकरण सोधेको हो । आयोगले उक्त इन्स्टिच्युटलाई भदौ १७ गते स्पष्टीकरण सोधेको थियो ।
आयोगकी प्रवक्ता गीताकुमारी हुमेगाईंका अनुसार अख्तियारमा परीक्षार्थीहरुले आफ्नो व्यक्तिगत विवरण (फोन नम्बरलगायत) कसरी बाहिरियो र इन्स्टिच्युटले कसरी पायो भन्दै उजुरी दिएका थिए । तत्पश्चात् आयोगलाई अख्तियारले पत्र काटेर यो विषयमा बुझ्न भनेको थियो । उनले भनिन्, ‘हामीले ओट्टिसलाई बोलाएर छलफल गरेर लिखित स्पष्टीकरण लिएका थियौं ।’
हुमेगाईंका अनुसार उक्त इन्स्टिच्युटले आफूहरुले विभिन्न रुपमा गर्ने विज्ञापन, तथ्यांक संकलनको माध्यमबाट परीक्षार्थीको विवरण संकलन गरेको स्पष्टीकरणमा बताएको छ । उनले भनिन्, ‘हामीले सोध्दा वेबसाइटमा विभिन्न रुपमा विज्ञापन गर्ने, फेसबुकमा गर्ने विज्ञापनहरुमा क्लिक गर्ने विद्यार्थीहरुबाट डेटा संकलन गरेको र साथीभाइबाट संकलन गरेको भन्ने स्पष्टीकरण दिनुभएको छ ।’
परीक्षार्थीहरुलाई म्यासेज पठाएको ओट्टिसका संस्थापक सुवास पौड्याल भने आफूहरुले लोकसेवाको परीक्षा दिने तयारी गरिरहेका विद्यार्थी, आफ्नो वेबसाइटमा राखिने सामग्री पढ्न/हेर्नका लागि गर्नुपर्ने लगइन, फर्म भर्नका लागि परीक्षार्थीहरुले साइबरमा दिने विवरणलगायतबाट विवरण संकलन गरेको बताए ।
उनले भने, ‘डेटा सुरक्षाको विषयमा हामी पनि गम्भीर छौं । हामीले लोकसेवाको तयारी गर्नेहरुका साथीभाइ, विभिन्न कलेजमा गर्ने मार्केटिङबाट तथ्यांक संकलन गरेका हुन्छौं । हाम्रो फेसबुक, वेबसाइटहरुमा पनि राखिएका सामग्री लगइन गरेर नि:शुल्क हेर्न मिल्छ । त्यहाँबाट पनि परीक्षार्थीको विवरण संकलन हुन्छ । त्यसको आधारमा म्यासेज पठाएका हौं ।’
ओट्टिसले निश्चित संख्यामा विद्यार्थीलाई म्यासेज पठाएको उनले बताए । पछि लोकसेवा आयोगले स्पष्टीकरण सोधेपछि आफूहरुले यसको जवाफ पनि दिएको उनले बताए ।
केही समयअघि यस्तै प्रकृतिमा परीक्षार्थीहरुलाई विवादित अस्गर अलीको कम्पनी एम्बिसन गुरुले पनि म्यासेज पठाउँदै शुभकामना सन्देश पठाएको थियो । विद्यार्थीले दिने परीक्षाको विवरणसहित पठाइएको उक्त शुभकामना सन्देशका लागि एम्बिसन गुरुले विवरण कहाँबाट लियो र कसरी लियो भन्ने विषयमा भने लोकसेवा आयोग चुप छ । हालसम्म पनि उक्त कम्पनीलाई लोकसेवा आयोगले कुनै स्पष्टीकरण सोधेको छैन ।