संघीय निजामति कर्मचारी ऐन मंगलबारको मन्त्रिपरिषद्ले पारित गर्छः प्रधामन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा सोमबार प्रधानमन्त्री दाहालले संघीय निजामति कर्मचारी ऐनलाई भोलि (मंगलबार)को मन्त्रिपरिषद बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताका हुन् ।

मन्त्रिपरिषद्मा शिक्षासम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढंगले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लैजानका लागि रोकिएको उनले जानकारी गराए । नेपालको संविधान जारी भएपश्चात हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको र अहिले १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कानुन निर्माणको प्रक्रियामा रहेको जानकारी गराए । त्यस्तै अघिल्लो प्रतिनिधि सभामा निष्क्रिय भएका विधेयकलाई पुनः संसदमा पेस गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले प्रहरी प्रशासनसम्बन्धी कानुनलाई संघीयताअनुकूल बनाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि जानकारी गराए । ‘सरकार प्रहरी समायोजन ऐनलाई कार्यान्वयनमा लैजाने तयारीमा छ,’ उनले भने ।

उनले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता कानुन निर्माण र जग्गा प्राप्तिसम्बन्धी विषयमा विधेयक तयार गर्न आवश्यक कार्य सुरु भइसकेको पनि जानकारी गराए ।


रवि धिताल