काठमाडौं महानगरद्वारा नाका-नाकामा पानीका जारको अनुगमन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ ।

पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन गर्न थालेको हो ।

अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकैशंका देखिएका छन् । यस क्रममा आइतबार वडा नं. ३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गरिएको हो ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएको थियो ।

यसरी हेरिएका सवारी साधनमा एउटै मात्र कम्पनीका कुनै पनि जार फेला परेन । एउटै सवारी साधनमा ५ देखि ७ वटा कम्पनीको लेवल भएको जार भेटिएको थियो । अधिकांशमा लेवल नभएको र कुच्चिएर, चुहिने, फुटेको अवस्थामा जारहरु फेला परेका थिए ।

समस्या देखिएकामध्ये १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरिएको छ । पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु गुनासो गर्न आउने गरेको झाले बताए ।


रवि धिताल