कुथेली बुखरीको सेयर मूल्यमा किन लाग्दैछ लगातार सकारात्मक सर्किट ?



काठमाडौं । भदौ ४ देखि दोस्रो बजारमा कारोबार सुरु भएको कुथेली बुखरी स्मल हाइड्रोको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । सेयर बजार परिसूचक उच्च अंकले घट्दा होस् या सामान्य बढ्दा कुथेली बुखरीका लगानीकर्ताको सम्पत्ति भने दैनिक १० प्रतिशतले बढिरहेको छ ।

कुथेली बुखरी सेयर कारोबार भदौ ४ देखि सुरू भएको हो । स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा कारोबार खुला भएको थियो । त्यसयताका ६ कारोबार दिनसम्म मूल्य लगातार सकारात्मक सर्किट लागेर बढिरहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ ०१ पैसासम्मको ओपनिङ रेन्ज तोकेको थियो । सोही मूल्यको अधिकतम सीमामा रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको वास्तविक नेटवर्थको ३ गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।

कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता आईपीओ सूचीकृत भएको छ । त्यसमा संस्थापक सेयर ८० प्रतिशत अर्थात् ९ लाख ७४ हजार ९ सय ४० कित्ता छ भने सर्वसाधारण सेयर २० प्रतिशत अर्थात २ लाख ४३ हजार ७३५ कित्ता छ । सर्वसाधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसँग छ ।

कम्पनीको १ लाख २१ हजार कित्ता आयोजना प्रभावितका लागि र १२ हजार १८६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो । आयोजना प्रभावित बासिन्दा र कर्मचारीले ३ वर्ष सेयर बेच्न पाउँदैनन् । त्यसो हुँदा बजारमा सेयर आपूर्ति अत्यन्तै कम भएकाले कुथेली बुखरीमा खेल्न र मूल्य बढाउन सहज भएको सेयर बजार विश्लेषक बताउँछन् ।

भदौ ४ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७९ बाट १० प्रतिशत बढेर ५२६.९ रुपैयाँ पुग्दा ११०२ कित्ता सेयर किनबेच भयो । भदौ ५ गते ९७० कित्ता सेयर किनबेच भयो भने मूल्य ५७९.५ रुपैयाँ पुग्यो । ६ गते ६४० कित्ता सेयर खरिद-बिक्री भयो भने मूल्य ६३७.४ पैसा पुग्यो ।

त्यसयताका तीन कारोबार दिनमा भने अलि बढी परिमाणमा सेयर किनबेच भएको छ । बिहीबार २ हजार ५७८ कित्ता, आइतबार २ हजार ५०९ तथा सोमबार (आज) १ हजार ९९१ कित्ता सेयर किनबेच भएको छ । मूल्य बिहीबार ७०१.१ र आइतबार ७७१.२ पैसा पुगेको थियो भने आज ८४८.३ रुपैयाँ पुगेको छ ।

सोमबार कम्पनीको १७२ वटा कारोबार हुँदा १४९ वटा खरिद कारोबार ब्रोकर नम्बर ६४ बाट भएको छ । त्यस्तै २१ वटा खरिद कारोबार ब्रोकर नम्बर ४२ बाट भएको छ भने ब्रोकर नम्बर १४ र ५४ बाट एउटा-एउटा खरिद कारोबार भएको नेप्सेले जनाएको छ ।


रवि धिताल