सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम १ अर्बभन्दा तल



काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । जलविद्युत, उत्पादनमूलक तथा प्रशोधन, लघुवित्त र अन्य समूह घटे पनि बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, बिमा, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूह बढेपछि समग्र बजार परिसूचक सकारात्मक बनेको हो ।

नेप्से सोमबार ५.०९ अंकले बढेर १९९८.४८ अंकमा उक्लिएको छ । कारोबार समयमा २००९ अंकसम्म पुगेको परिसूचक बजार बन्द हुँदा २००० अंक कट्न सकेन ।

सोमबार ११८ कम्पनीका लगानीकर्ताले कमाउँदा ९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै लक्ष्मी सनराइज बैंक, सिटी होटल, न्यादी हाइड्रोपाव र माछापुच्छ्रे बैंक पनि बढी बढ्ने कम्पनीमा परेका छन् । बजार बढ्दा पनि स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, मिर्मिरे लघुवित्तलगायत काम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।

आज २७९ कम्पनीको ३६ लाख ७० हजार ७३१ कित्ता सेयर ९८ करोड ८६ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम आइतबारको तुलनामा थोरै हो । आइतबार १ अर्ब २३ करोडको कारोबार भएको थियो । आइतबार नेप्से २०.५४ अंकले घटेको थियो ।


रवि धिताल