सरकारी बैंकले ब्याज बढाउँदा अर्थमन्त्री असन्तुष्ट, ३ वटै बैंकका सीईओलाई मन्त्रालयमा बोलाए



काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकले निजी क्षेत्रले प्रवद्र्धन गरेका बैंकभन्दा बढी ब्याज बढाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत असन्तुष्ट भएका छन् ।

बिहीबार ब्याजदर बढाउने निर्णय गर्दै सरकारी बैंकले सूचना प्रकाशित गरेपछि असन्तुष्ट बनेका अर्थमन्त्री डा. महतले तीनवटै बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) लाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएका हुन् । मन्त्री महतले सरकारी बैंकका सीईओलाई ब्याजदर घटाउन निर्देशन दिने स्रोतले जानकारी दियो ।

भदौ महिनामा सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी ब्याज बढाएको थियो ।

बैंकले साउन महिनाको तुलनामा भदौमा संस्थागत मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.९०६ प्रतिशत विन्दुले बढाएको छ । साउनमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत र संस्थागत निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिएको थियो।

साउनमा ब्याजदर घटाउदा अन्य बैंकले निक्षेप खोसेपछि आफूहरुले भदौमा ब्याजदर बढाउनु परेको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिएका थिए । ‘साउनमा ब्याजदर बढाएका बैंकले हाम्रो निक्षेप लगेर गए, जसले गर्दा बैंकलाई नियामक निकायले तोकेका अनुपातहरु पूरा गर्न कठिन भयो,’ अधिकारीले भनेका थिए, ‘भदौमा पनि ब्याजदर घटाउदा थप निक्षेप पलायन हुने जोखिम भएपछि हामीले ब्याजदर बढाउनु परेको हो ।’

बैंकले भदौमा साउनको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर २१.२० प्रतिशत र संस्थागत मुद्दती निक्षेपको २७.२६ प्रतिशतले ब्याजदर बढाएको छ ।

ब्याजदर धेरै बढाउने बैंकको दोस्रो नम्बरमा पनि सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ । बैंकले भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १.३८६ प्रतिशत विन्दुले बढाएको छ । कृषि विकास बैंकले साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा ९.५१ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.५१ प्रतिशत ब्याज दिएको थियो।

भदौमा कृषि विकासले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १४.५७ प्रतिशतले बढाउँदै १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १८.४६ प्रतिशतले बढाउँदै ८.८९६ प्रतिशतले पुर्‍याएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत विन्दुले बढाएको छ ।

भदौमा राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.१२ प्रतिशतले बढाउँदै ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १४.३१ प्रतिशतले बढाउँदै ७.९९ प्रतिशत कायम गरेको छ ।

ब्याजदर घटाएर सरकारलाई सहयोग गर्नु पर्नेमा निजी बैंकभन्दा बढी ब्याजदर बढाएको भन्दै तीनवटै बैंकका सीईओसँग मन्त्री रुष्ट रहेको स्रोतले जानकारी दिएको छ ।


क्लिकमान्डु