यी ५ प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना



काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

शुक्रबारको मौसम

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।


क्लिकमान्डु