सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको हुनसक्ने शेखर कोइरालाको आशंका



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताए ।

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको उनले बताए ।

प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताए ।

‘सुन काण्डमा रोचक के छ भने सीआईबी इन्भल्व छैन । राजस्व अनुसन्धान मात्रै इन्भल्व छ । सीआईबी इन्भल्व छैन, त्यो इन्ट्रेस्टिङ छ । राजस्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन । त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्ड भन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो । के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ’ कोइरालाले भने ।

उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने दाबी गरे ।

उनले भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताए । नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताए । देशमा अराजकता र दण्डहीनता बढीरहेको उनले बताए । उनले मानिसको हत्या गर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गरे ।

‘एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ । भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो । झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ । सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ । सुनकाण्डमा त नेपालका बजार धेरै ठूलो छैन । यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनैपनि काण्ड निस्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन्’ उनले भने ।

कोइरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताए । कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि उनले आशंका व्यक्त गरे ।

नेता कोइइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको बताए ।


क्लिकमान्डु