कृषि एम्बुलेन्स सञ्चालन गरी दुर्गम क्षेत्रमा उत्पादित तरकारी बजारीकरण गर्दै पोखरा महानगर



पोखरा । पोखरा-१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्छिन् तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् ।

उत्पादित तरकारी बिक्री गर्न उनलाई १० किलोमिटर टाढा पोखरा-९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्नपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल थियो ।

तर अहिले आफ्नै वडाको ठूलीपोखरीमा किसान बजारस्थल खुलेपछि उत्पादित तरकारी बिक्री गर्न गुरुङलाई शान्तिवन धाउनुपर्ने अवस्था हटेको छ ।

पोखरा-१९ पुरनचौरका किसान तुल्सी बाँस्तोलाको पीडा पनि गुरुङकै जस्तै छ । आफ्नो बारीमा उत्पादन गरेको घिरौला, काक्रा, लौका, सिमी, बोडी र गोलभेँडा बिक्रीका लागि उनी २० किलोमिटरको दूरी पार गर्दै पोखरा-९ को शान्तिवनस्थित तरकारी बजारमा पुग्नुपर्ने अवस्था थियो तर शनिबारदेखि यस क्षेत्रका किसानले उत्पादन गरेको कृषि उपज आफ्नै वडामा किन्ने व्यवस्था पोखरा महानगरपालिकाले गरिदिएको छ ।

पोखरा महानगरपालिका वडा नं-१९ र १६ को संगमस्थल ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार पाएको छ ।

पोखरा महानगरपालिकाले एक महिनायता कृषि एम्बुलेन्स सञ्चालन गरी वडाको दुर्गम क्षेत्रमा उत्पादित तरकारी बजार क्षेत्रमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइदिएपछि किसान खुसी भएका छन ।

पोखरा महानगरपालिका वडा नं-१९ र १६ को संगमस्थल ठूलीपोखरीमा सञ्चालनमा ल्याइएको किसान बजारस्थलमा शनिबार तरकारी किन्न स्थानीयको भीड नै लागेको थियो ।

‘भारतबाट ल्याइएको बासी र विषादीयुक्त तरकारी उपभोग गर्नुपर्ने बाध्यता अब हामीलाई हटेको छ’, स्थानीय दुर्गादेवी अधिकारीले भने । वडास्तरीय उक्त किसान बजारस्थलको संयोजक जीतबहादुर बस्नेत रहेका छन ।

उनले बजारलाई नियमितता दिने प्रयास आफ्नो रहने र फलफूलका साथै पछिल्ला दिनमा दूध र मासुको समेत व्यवस्था गरिने बताए ।

महानगरपालिकाको कृषि एम्बुलेन्सले ल्याएको तरकारी बजारस्थलमा १०/२० प्रतिशत नाफा लिएर उपभोक्तलाई बिक्री गरिएको जानकारी संयोजक बस्नेतले दिए ।

कृषि एम्बुलेन्सले ल्याउन नसकेका दिन पनि बजारकै तर्फबाट ढुवानी गरेर तरकारी बजारस्थलमा ल्याइने प्रतिबद्धता संयोजक बस्नेतको छ ।

ठूलीपोखरीमा शनिबारदेखि सञ्चालनमा आएको किसान बजारस्थलको उद्घाटन पोखरा महानगरपालिका-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा नं-१६ का अध्यक्ष अमृत तिमिल्सेना र पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखाका प्रमुख मनोहर कडरियाले सयुक्तरूपमा गरेका थिए ।

सो अवसरमा बोल्दै वडा नं-१९ का वडाध्यक्ष पाण्डेले किसानले उत्पादन गरेको तरकारीको बजारीकरण गरी उनीहरूलाई कृषिप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए ।

युवाको विदेशमोहलाई घटाउनका लागि पनि सरकारी तहबाट कृषि क्षेत्रलाई अनुदान दिएर भए पनि कृषिप्रति युवाको आकर्षण बढाउन जरुरी रहेको भनाइ पाण्डेको छ ।

पोखरा-१६ का वडाध्यक्ष तिमिल्सेनाले किसान बजारलाई निरन्तरता दिने कार्यमा आफ्नो प्रयास रहने बताउँदै नजिकै बजार स्थापना भएपछि स्थानीय किसानले समेत आफ्नो उत्पादनलाई वृद्धि गर्ने विश्वास उनले दिलाए ।

किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धन गर्न वडास्तरबाट समेत बीउबिजन र सहजरूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन आफ्नो प्रयास रहने प्रतिबद्धता तिमिल्सेनाले गरे ।

पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखा प्रमुख कडरियाले पोखरा महानगरपालिकाले पोखराका विभिन्न १५ स्थानमा संकलन केन्द्र र पाँच स्थानमा किसान बजारस्थल सञ्चालनमा ल्याएको जानकारी दिए ।

कृषि क्षेत्रको प्रवर्द्धन गर्न र पोखरेली उपभोक्तालाई ताजा र कम विषदीयुक्त तरकारी खुवाउन आफ्नो प्रयास रहेको उनले बताए ।

कृषि एम्बुलेन्सले पोखराका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको तरकारी विभिन्न बजारस्थलसम्म ल्याउने गरेको कडरियाको भनाइ छ ।


क्लिकमान्डु