तारा गाउँ विकास समितिले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । तारा गाउँ विकास समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो ।
समितिले खरिदारदेखि शाखा अधिकृत पदसम्मका लागि १-१ जना कर्मचारी माग गरेको छ । समितिका अनुसार खरिदार एक जना, सहायक सुपरभाइजर एक जना, लेखापाल एक जना, सुपरभाइजर एक जना, लेखा अधिकृत एक जना र शाखा अधिकृत २ जना माग गरिएको छ ।
खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति हुने विभिन्न पदका लागि योग्य उम्मेदवारले साउन १८ सम्म दरखास्त दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर साउन २५ सम्म दरखास्त दिन सकिनेछ ।
दरखास्त दिन छैटौं तहका लागि परीक्षा दस्तुर १२ सय रुपैयाँ तोकिएको छ । त्यसमा प्रत्येक थप समावेशी समूहका लागि थप ४ सय दस्तुर बुझाउनुपर्नेछ । त्यस्तै, पाँचौं तहका लागि परीक्षा दस्तुर ७ सय र चौथो तहका लागि ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।
तारा गाउँ विकास समिति स्वआजर्नमा सञ्चालन भएको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्था हो । २०३४ साल कात्तिक १ गते तत्कालीन सरकारको निर्णयअनुसार विकास समिति ऐन, २०१३ अन्तर्गत ‘तारा गाउँ विकास समिति गठन आदेश २०३४ अनुसार’ तारा गाउँ विकास समिति गठन भएको हो ।
तारा गाउँ विकास समिति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत कार्यरत सरकारी संस्था हो । यस समितिको प्रमुख उद्देश्य नेपाली सौन्दर्य, कला र संस्कृतिको बढीभन्दा बढी समन्वयात्मक प्रस्तुतिसहित पर्यटकलाई गुणात्मक सेवा एवं रमणीय बनाउँदै उनीहरुको बसाइ अवधि लम्ब्याउनु हो । साथै स्थानीय जनसहभागितामा ग्रामीण पर्यटनको माध्यमबाट विभिन्न सामुदायिक विकास कार्यक्रमद्वारा ग्रामीण नेपाली जनताको जीवनस्तर उठाउन सहयोग पुर्याउनु हो ।