बैंकिङ विज्ञ बीएन घर्तीको ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ पुस्तक सार्वजनिक



काठमाडौं । बैंकिङ क्षेत्रका विज्ञ बीएन घर्तीको ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक भएको छ।

जल्दाबल्दा बैंकिङ विषयलाई विश्लेषण गर्दै बैंकिङ विज्ञ घर्तीले पुस्तक लेखेका हुन् ।

उक्त पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ, किन अल्पदृष्टिबाट नभइ दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्दछ, किन ग्राहक केन्द्रित हुनु पर्दछ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्दछ, कर्मचारीहरुलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन जस्ता विषय समेटिएका छन् ।

त्यस्तै पुस्तकमा पारिश्रमिक दिनेगरी किन व्यवसायिक संचालक नियुक्त गर्नु पर्दछ, किन एक नं. हुने दौडमा सामेल हुनु हुँदैन, फाइनान्स कम्पनी र बिकास बैंक किन चाहिन्छन्, लघुवित्तले बहुबैंकिङ गरिरहेका छन् भन्ने थाहा पाउदा पाउदै करिव ५ बर्ष राष्ट्र बैंक किन चुप लागेर बस्यो, उच्च पदस्थ व्यक्ति र प्रतिबन्धित सूचीमा रहेका व्यक्तिहरुलाई पहिचान गर्न के गर्नु उपयुक्त हुन्छ, बैंक तथा वित्तीय संस्था समस्यामा परे पछि सहज अबस्थामा फर्कन किन बर्सौं लाग्छ आदि जस्ता बिषयबस्तुको लेखकले विश्लेषण गरेका छन् ।

पुस्तक पढेपछि एनआईसी तथा नबिल बैंकमा समेत गरी १६ बर्ष प्रमुख कार्यकारी अधिकृत भइ कार्य गरेका सशिन जोशीले पुस्तकका बारेमा टिप्पणी गर्दै लेखेका छन्, ‘बीएन घर्तीद्वारा लेखिएको ‘बैंकिङ अनुशासन’ शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरुका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरुका लागि पनि ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ भन्ने मलाई लागेको छ ।’

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीले उक्त पुस्तक अध्ययन गरेमा त्यसले अहिले गरिरहेको बैंकिङ अभ्यासमा परिवर्तन ल्याउनका लागि भूमिका खेल्न सक्ने विश्वास लेखकले लिएका छन् ।


क्लिकमान्डु