प्रचण्डले आफू भारतको इसारामा प्रधानमन्त्री बनेको भनेपछि एमालेद्वारा राजीनामा माग



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका छन् ।

उनले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राखे । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्‍‍याए ।

‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ । यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसेको इसारामा हुन्छ ?’ उनले भने ।

प्रधानमन्त्री दाहाल स्वयंले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको उनले बताए । एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभा बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।


क्लिकमान्डु