नेपाल र यूएईबीच ४ वर्षका लागि स्वत: श्रम सम्झौता नवीकरण



काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी बमोजिमको संयुक्त कार्य समितिको तेस्रो बैठक सम्पन्न भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा दोस्रो बैठकमा भएका समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समिक्षा गर्दै द्विपक्षीय श्रम समझदारीमा व्यवस्था भएबमोजिम आगामी ४ वर्षको लागि स्वतः नवीकरण हुने समझदारी भएको छ ।

बैठकमा नेपालका तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गर्दै मन्त्रालयका सहसचिव राजीव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकन, नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानुनको जानकारी, नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था, जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरण तथा अलेखबद्ध रूपमा यूएईमा रहेका नेपाली श्रमिकलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरण, नेपाली श्रमिकको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रिया जस्ता विषयमाथि छलफलका लागि प्रस्ताव राखेका थिए ।

नेपाल सरकारका तर्फबाट राखिएका प्रस्तावमा छलफल भई यूएई सरकारका तर्फबाट नेतृत्व गरेका असिस्टेन्ट अन्डर सेक्रेटरी अब्दुल्ला अल्नुअमीले नेपाल सरकारको तर्फबाट राखिएका प्रस्ताव सम्बोधन गर्न यूएईको श्रम बजारको अवस्था चित्रण गर्दै आफ्नो कार्यदल र मिनिस्ट्री ह्युमन रिसोर्स एन्ड इमिरटाइजेसन सकारात्मक रहेको धारणा राखे ।

यूएई सरकारका तर्फबाट अब्दुल्ला अल्नुअमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गरे ।


क्लिकमान्डु