रविको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतले बुधबार लामिछानेविरुद्ध पेस भएको रिट दर्ता गरेको हो ।

युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ ।

रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।

‘विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१०/१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुनः प्राप्त भएको मान्न सकिँदैन । नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ’ रिटमा माग गरिएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पेस गर्न नसकेको जिकिर पनि रिट निवेदनमा गरिएको छ ।
लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।

यो रिट निवेदन वैशाख २५ गते नै सर्वोच्च अदालतमा पेस भएको थियो । उक्त रिट निवेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो ।

दरपीठविरुद्ध पौडेलले जेठ २ मा इजलासमा निवेदन दिएका थिए । उक्त दरपीठको आदेशलाई सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले बदर गरी रिट दर्ता गर्न आदेश दिएका थिए ।


क्लिकमान्डु