ओलीको प्रश्न: क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार मुद्दालाई अख्तियारले होल्ड गर्‍यो, किन खुट्टा कमाउनु हुन्छ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु सिविरमा नभएका मानिसको पैसा बुझेर राज्यको ढुकुटीमा छलछाम गरेर खल्तीमा हाल्ने काम भएको भन्दै त्यसको अनुसन्धान हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकअघि सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार मुद्दालाई अख्तियारले त्यतिकै होल्ड गरेको बसेको आरोप लगाए ।

‘क्यान्टोनमेन्टमा नभएका मानिसको पैसा बुझिएको छ । राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने कुरा भनेको भ्रष्टाचार नै हो । जो सुकैले गरेको होस्’ ओलीले भने, ‘त्यसका बारेमा कोही पनि बोल्न तयार छैनन् आश्चर्य लाग्छ । राज्यको पैसा व्यक्ति वा संस्थाले कुम्ल्याउन मिल्छ ? तर यी कुरा भएका छन् । अख्तियारले त्यतिकै होल्ड गरेर बसेको छ । ‘

उनले अख्तियारलाई खुट्टा नकमाउन आग्रह गरे । ‘म अख्तियारलाई भन्न चाहन्छु, राज्यको त्यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्,’ ओलीले भने, ‘तपाईंहरु किन खुट्टा कमाउनु हुन्छ ? किन खुट्टा कमाएर लिरलिर भएर बस्नु पर्यो ।’

अख्तियार, सम्पति सुद्धिकरण लगायतका संस्थाहरुलाई राजनीतिक प्रतिशोधको अस्त्र बनाउन नहुने उनले बताए ।

ओलीले वर्तमान सरकारले एकलौटी रुपमा बहिर्गमित लडाकुलाई पैसा खुवाउन लागेको भन्दै आपत्ति जनाए ।
देशको अर्थतन्त्र चौपट अवस्थामा रहेको बेलामा माओवादीले १ लाख ५० हजार कार्यकत्तालाई रकम दिने र फेरि त्यो आफैं लिन खोजेको उनले आरोप लगाए ।

‘अहिले आएर २ लाख बाँड्ने भनेर अहिलेको सरकार उद्यत भइरहेको छ । अर्थतन्त्र यस्तो चौपट अवस्थामा छ कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था बनिराखेको छ । विकास निर्माणका कामहरु अवरुद्ध भइरहेका छन्,’ ओलीले भने, ‘यस्तो बेलामा बहिर्गमित लडाकु कसकसलाई फेरि २ लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अघि बढ्न खोजिराखिएको छ । माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरिरहेको छ उहाँहरु बलजफती निर्णय गराउने र फेरि १ लाख ५० हजार कार्यकत्तालाई दिने र फेरि त्यो आफैं लिने गरि अघि बढेको छ ।’


क्लिकमान्डु