लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छ, फिस्कल स्पेस छैन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कोरोना महामारीको क्रममा लचिलो मौद्रिक नीति लिएर कर्जा प्रवाह हुँदा अर्थतन्त्र समस्यामा परेको र फेरि लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा मन्त्री महतले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि ब्याजदर बढी हुँदा आन्तरिक लगानी बढ्न नसकेको बताए ।

‘अर्थतन्त्र समस्या आउनुको कयौं कारण छन्, हामीले वित्त नीतिबाट पुँजी परिचान गर्न सकेनौ, अर्को कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भयो,’ महतले भने,‘त्यसैले अर्थतन्त्रमा सिथिलता देखिएको छ । आज देखिएको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ ।’

महतले मौद्रिक उपकरण परिचालन गर्दै हाल अर्थतन्त्रमा देखिएको सुस्तता र उच्च ब्याजदरको समस्या समाधान गर्नु पर्ने बताए।

‘अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनु पर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ । राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिवद्धता जनाउनु भएको छ,’ महतले भने, ‘राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ । फिस्कल स्पेसमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनु पर्छ ।’

अर्थतन्त्रको आकार नबढ्दासम्म वित्त नीतिले धेरै काम गर्न सक्ने अवस्था नरहेको महतले बताए ।

‘अर्थतन्त्रको आकार बढ्न लगानी बढ्नु पर्छ, त्यसका लागि त्यसका लागि ब्याजदर घट्नु पर्छ । आर्थिक गतिविधि बढ्यो भने मात्रै राजस्व संकलन बढ्छ र अनि मात्रै फिस्कल स्पेस बढ्ने हो,’ महतले भने,‘ त्यो सबै काम गर्न समय लाग्छ । अहिले फिस्कल स्पेसको लिमिटेसन छ । त्यसैले मौद्रिक नीतिमार्फत बजारमा तरलता प्रवाह हुनु पर्छ ।’

महतले उत्पादन मुलक क्षेत्रमा लगानी बढ्न नसक्दा नेपाली अर्थतन्त्रको समस्यामा परेको बताए ।

‘उद्योग व्यवसायीको सहभागीता बैंकिङ क्षेत्रमा छ । उद्योगी व्यवसायी छुट्याउने विषयमा प्रश्न उठेको छ,’ महतले भने,‘केही व्यक्तिमा मात्रै कर्जा लगानी भएको विषय पनि उठेका छ । स्पेड दर बढी भयो भन्ने विषय छ । यी विषयमा सबै पक्ष मिलेर काम गर्नु पर्नेछ ।’

ब्याजदरको दबावले उद्योग व्यवसायको क्षेत्रमा समस्या सिर्जना गरेको महतको भनाइ छ । ‘आर्थिक गतिविधिमा समस्या छ, राजस्व संकलन सन्तोषजनक छ, सरकारको खर्च बढेको छैन, ब्याजदर बढी छ,’अर्थमन्त्री महतले भने, ‘यी सूचकहरुले अर्थतन्त्र समस्यामा छ भन्ने देखाउँछ । हामी यी सबै समस्यालाई क्रमश समाधान गर्ने गरि काम गरिरहेका छौं ।’


क्लिकमान्डु