प्रतिकले भने: भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्नता छैन, अनुसन्धानमा सहयोग गर्छु



काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले आफूविरुद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाएको दाबी गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रतीकले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा आफूहरुले जनताका लागि सधैं न्यायाको पक्षमा काम गरेको दाबी गरेका छन् ।

‘राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढवा दिने हो ? भन्ने कुरा बुझ्न जरूरी छ,’ उनले उल्लेख गरेका छन्, ‘हामीले गृह मन्त्रालय सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं।जनसरोकारको विषयमा कोही सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन ।’

शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उनले झुटो आरोपसहित आफ्नो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गरेका छन् ।

तर आफू यो घटनामा सहयोग गर्न तयार रहेको उनले उल्लेख गरेका छन् ।

‘संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु