ओलीमाथि झापामा आक्रमण प्रयास, दुई प्रहरी घाइते, ढुंगामुढा गर्ने एकजना पक्राउ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गृहजिल्ला झापामा आक्रमण प्रयास भएको छ ।

पार्टीको ग्रासरुट अभियानको क्रममा झापा पुगेका एमाले अध्यक्ष ओली सहभागी कार्यक्रमलाई रोक्न खोज्नेको समूहले कालो झण्डा देखाउने र ढुंगामुढा गरेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेशको नाम कोशी नामाकरण गरेको भन्दै बिरोध गर्ने समूहले अभद्र व्यवहारसहित कार्यक्रम हुन नदिन ढुंगामुढा भएको भए पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर कार्यक्रम सफल भएको उनले जानकारी दिए ।

घटनामा दुई प्रहरी घाइते भएका छन् भने एक जनालाई पक्राउ गरिएको गृहमन्त्री श्रेष्ठले प्रतिनिधि सभामा जानकारी दिए ।

‘केपी ओली सहयोगीहरुसहित पार्टीको ग्रासरुट अभियानको सिलसिलामा इलाम जाने सन्दर्भमा झापा जानु भएको थियो । झापाको बुधबारेमा उहाँको कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम थियो’गृहमन्त्री श्रेष्ठले संसद्‍मा जानकारी दिँदै भने, ‘त्यहाँ जाने क्रममा उहाँलाई कोशी नामाकरणमा बिरोध राख्ने समूहको तर्फबाट कालो झण्डा र केही अभर्द्र व्यवहारसहित कार्यक्रम हुन नदिन ढुंगामुढा गर्ने दुखद् घटना भएको छ ।’

कार्यक्रम सम्पन्न भएसँगै ओली इलामतर्फ प्रस्थान गरेका छन् ।


क्लिकमान्डु