सांसदको गुनासो- महँगी बढेर दूध खान छाड्यौँ, १८ सयको चामल २४ सय पुग्यो, बाँच्न धौ-धौ भो



काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले महँगी अचाक्ली बढेको र बजार साह्रै अनियन्त्रित भएको गुनासो गरेकी छन् ।

‘१८ सयमा किनेको चामल २४ सय प्रतिबोरामा किनेको छु, १६० रुपैयाँमा किन्ने गरेको तेल २५० रुपैयाँ भन्दा बढीमा किनेको छु,’ उनले भनिन्, ‘एउटा पसल र अर्को पसलबीचको भाउ मिल्दैन, जसले जसलाई  जति लिए पनि हुन्छ । हामी तलब र पेन्सन खानेहरुलाई बाँच्न धौ-धौ परेको छ ।’

बाटोमा ठेलामा हरियो मकै बिक्री गर्नेको दिनचर्या कसरी चलेको होला भनेर सम्झँदा कहाली लाग्ने अवस्था रहेको उनको भनाइ छ ।

‘दूध दही हामीले त खान छोड्यौँ, साना-साना बच्चा भएका आमाहरुले बच्चालाई कसरी पुर्‍याएका होलान् भन्ने लाग्न थालेको छ,’ उनले भनिन्, ‘तुरुन्तै बजार अनुगमन गरेर भाउ नियन्त्रण गर्नुपर्ने र बजार भाउलाई सन्तुलित गर्नुपर्ने अवस्था छ ।’

सदस्य पौडेलले साना तथा मझौला उद्योग बन्द भएको र व्यापारीहरु व्यापार छोडेर भाग्न थालेको स्मरण गराइन् । ‘सरकारले पैसा नभएका कारण निवृत्तिभरण लिएका ५० हजारमध्ये ३० हजार शिक्षकले मात्रै पेन्सन पाएका छन्,’ उनले भनिन्, ‘१२ जिल्लामा पेन्सनको पैसा पुगेको छैन, पेन्सन नपाएका शिक्षक भोकै पर्ने अवस्था छ ।’

विगत ८ महिनामा शिक्षा र विदेश भ्रमणको नाममा देशबाट ७६ अर्ब बाहिरिएको र सोही अवधिमा पर्यटकबाट भएको आय ३७ अर्ब मात्रै रहेको स्मरण गराइन् । यो हेर्दा वैदेशिक मुद्राको सञ्चिति राम्रो रहेको भन्न नसकिने उनको दाबी छ ।

२ वर्षअघि औसत ब्याजदर ८.५ प्रतिशत रहेको र अहिले १३ प्रतिशतभन्दा बढी रहेको भन्दै कोरोनाले थलिएका उद्योगी, व्यपारी, व्यवसायीले सहज रुपमा ऋण पाउन नसकेको उनको भनाइ छ ।


क्लिकमान्डु