काठमाडौंको ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग



काठमाडौं । संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा आव २०८०/८१ को वार्षिक योजना तर्जुमा कार्यक्रममा महानगरपालिकाको २६ नम्बर वडामा पर्ने ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको हो ।    

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले अन्तर्राष्ट्रिय जगतमा चिरपरिचित ठमेललाई विशेष पर्यटकीय नगरी घोषणा गर्नुपर्ने बताए । ‘नेपाल घुम्न आएकामध्ये ८० प्रतिशत विदेशी पर्यटक ठमेल आउने गरेका छन्, यसलाई विशेष पर्यटकीय नगरी घोषणा गर्नसके काठमाडौँ महानगरपालिका र ठमेलको सान अन्तर्राष्ट्रियस्तरमा बढ्न सक्थ्यो,’ उनले भने ।

अध्यक्ष शर्माले ठमेल क्षेत्रमा करिब १० हजार व्यवसाय सञ्चालन रहेको र ५० हजार व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएको बताए । उनले ठमेल क्षेत्रका भित्री गल्ली कालोपत्रे गर्नुपर्ने र सडक बत्ती तथा सिसी क्यामरा जडान गर्न वडा लाग्नुपर्ने बताउनुभयो ।

सार्वजनिक कार्यक्रममा ठमेल पर्यटन विकास परिषदले पर्यटन सूचना केन्द्र स्थापना हुनुपर्ने, ठमेल प्रवेशद्वार चाँडो सञ्चालन गर्नुपर्ने, ठमेलभित्र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, ठमेलभित्रका सम्पदालाई रङरोगन गर्नुपर्ने माग पनि गरेको छ ।    

कार्यक्रममा नयाँ बसपार्कस्थित मित्रनगर विकास तथा टोल सुधार समितिका अध्यक्ष दीपक सिंखडाले मित्रनगरभित्रका बाटो चाँडो कालोपत्रे गर्न माग गरे ।

वीरेन्द्र ऐश्वर्य मार्ग समितिका अध्यक्ष उमाशंकर दवाडीले पानी जम्ने बाटो चाँडो कालोपत्रे गर्न माग गरे । गोँगबु आवास क्षेत्रका महासचिव तिलबहादुर अधिकारीले गोँगबु आवास क्षेत्र प्रवेशद्वार चाँडो निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रमका अधिकांश वडावासीले वडाभित्रका सडक चाँडो कालोपत्रे गर्नुपर्ने, फोहोर व्यवस्थापन समयमा हुनुपर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण हुनुपर्ने, वडावासीलाई प्रदान गरिने औषधि समयमा पाउनुपर्नेलगायत माग राखेका थिए ।

वडाध्यक्ष ख्यामराज तिवारीले मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र बिजुलीको तार अण्डरग्राउण्ड गर्दा वडाभित्रका ८० प्रतिशत बाटो बिग्रिएको भन्दै उक्त समस्या चाँडो समाधान हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले आगामी वर्षसम्म वडाभित्रका सबै बाटो कालोपत्रे हुने, सडकबत्ती, सिसी क्यामरा र सुरक्षा साइरन राख्नेलगायतका कामलाई वडाले सञ्चालन गर्ने जानकारी गराए ।

काठमाडौँ महानगरपालिका–२६ का वडा सचिव केदार रिमालले चालू आवमा आफ्नो वडाले विकास निर्माणमा ६१ प्रतिशत प्रगति हासिल गरेको बताए । उनले आगामी वर्ष वडाले कौशीखेती, पर्यटनलगायतलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आगामी वर्षदेखि २६ वडा धुलोमुक्त र हिलोमुक्त हुने आश्वासन बाँडे ।


क्लिकमान्डु