उपनिर्वाचन अपडेट: तीनै क्षेत्रमा कांग्रेस-एमाले पछाडि, नयाँ दल अगाडि



काठमाडौं । उपनिर्वाचन भएका तीनै क्षेत्रको प्रारम्भिक गणनामा नयाँ दलका उम्मेदवार अगाडि देखिएका छन् । गठबन्धन गरेर उम्मेदवार उठाएका दलहरुले राज्यशक्तिको चरम दुरुपयोग गर्दा पनि ठूला दल तीनै ठाउँमै पछाडि परेका हुन् ।

प्रारम्भिक गणनामा चितवन २ मा २ हजार ३३२ मतसहित रास्वपाका रवि लामिछाने अगाडि छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४२७ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन् ।

त्यस्तै तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १७ हजार ९०२ मतसहित अग्रता बनाएका छन् भने कांग्रेसका गोविन्द भट्टराई १० हजार २२८ मतसहित दोस्रो स्थानमा छन् । त्यहाँ एमालेका सर्वेन्द्र खनालले ५ हजार ८६७ मत पाएका छन् ।

बारा २ मा पनि भर्खरै उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता कायमै राखेका छन् । उनले १ हजार १४६ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत प्राप्त गरेका छान् । उनीहरुबीचको मतान्तर २९ मात्र छ ।

यहाँ एमालेका पुरूषोत्तम पौडेल ५३८ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत ल्याएका छन् ।


क्लिकमान्डु