रविप्रति घनश्याम भुसालको कटाक्षः ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेका छन्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् ।
बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए । ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको उनको आरोप थियो ।
राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट शुरु भएको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै महासचिव भुसालले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको बताए । उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिष्पर्धा हुँदा नराम्राहरुले जित्ने बताए ।
‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो । यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रुपमा हुर्कियो । यसमा विचार के हो भन्दा म हो । मेरो हो, मेरा हुन् । ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त के हो भन्दा मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो सिद्धान्त । म विचार हो, मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्ने कुरा भइसकेपछि वामन्थीमा यदुवंशी मुसल तयार हुन्छ’ उनले भने, ‘भएको राम्रो पार्टी र राजनीतिक बिगार्न संसद विघटनबाट शुरु भयो । यो दुर्दशाको कारण यही प्रवृत्तिको कारण गर्दा राष्ट्रिय राजनीतिमा यी समस्या दखिएका छन् र नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरुका बीचमा झगडा हुन्छ, प्रतिष्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ । आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरु नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरिका नजिक छ ।’