ज्ञानेन्द्रलाल प्रधानले कानुनविपरीत गरेको कारोबारको थप रकम बाहिरियो, के गर्दैछ धितोपत्र बोर्ड ?



काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानुनविपरीत बिक्री गरेको सेयरको थप रकम फेला परेको छ ।

क्लिकमान्डुले प्राप्त गरेर विवरणमा प्रधानले ६ करोड रुपैयाँको सेयर आफू पदमा भएको समयमा बिक्री गरेका थिए । तर, धितोपत्र बोर्डले गरेको अनुसन्धानले त्योभन्दा ४ गुणा बढी रकमको सेयर प्रधानले पदमा भएको समयमा बिक्री गरेको तथ्य फेला परेको छ ।

बोर्डले गरेको अनुसन्धानका क्रममा प्रधानले आफूसँग भएको सेयर श्रीमती, छोरी र छोराको नाममा नामसारी गरेर २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ २० पैसाको सेयर बिक्री गरेका छन् ।

स्रोतका अनुसार प्रधानले २०७८ साउन दोस्रो साता आफूसँग भएको सेयर श्रीमती विमला श्रेष्ठ प्रधान, छोरा चेतन र छोरी निभिताको नाममा नामसारी गरेर साउन १७ बाट बिक्री गरेको पाइएको हो ।

प्रधानले श्रीमती विमलाको नाममा रहेको १८ करोड ५० लाख ७२ हजार ९४७ रुपैयाँ ९० पैसा, छोरा चेतनको नाममा रहेको ४ करोड ८ लाख ४९ हजार ३६५ रुपैयाँ ३० पैसा र छोरी निभिताको नाममा रहेको ३ करोड ८० लाख ५७ हजार १५३ रुपैयाँको सेयर बिक्री गरेको अनुसन्धानले देखाएको छ ।

प्रधानले कानुनविपरीत सेयर बिक्री गरेको पाइएपछि धितोपत्र बोर्डको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार जरिवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको छ ।

क्लिकमान्डुले २०७८ फागुन २५ गते ‘नेपाल हाइड्रोमा इन्साइडर ट्रेडिङः अध्यक्ष रहँदा ज्ञानेन्द्रलाल प्रधानले गरे करोडौंको सेयर किनबेच’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

उक्त समाचार प्रकाशित भएपछि बोर्डले प्रधानले गरको कारोबारका विषयमा विस्तृत अध्ययन गरेको थियो । बोर्डले गरेको अध्ययनमा प्रधानले नियमविपरीत सेयर कारोबार गरेको पाइएपछि १० वर्ष सूचीकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन अयोग्य हुने र ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिसकेको छ ।

नेपाल हाइड्रो डेभलोपर कम्पनीको अध्यक्ष हुँदा प्रधानले आफ्नो नाममा रहेको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेका थिए । बोर्डले प्रधानलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत धितोपत्र कारोबार गरेको भन्दै धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ (७) अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना गरेको जनाएको छ।

यस्तै धितोपत्रसम्बन्धी ऐन २०६३ दफा १०८ अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पनि सूचीकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने उल्लेख छ ।

प्रधानले भित्री कारोबार गरेको विषयमा गत मंसिर २५ गते बोर्डले तहकिकात अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालेको थियो । प्रारम्भिक अनुसन्धानमा भित्री कारोबार गरेको देखिएपछि थप अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमा रायका लागि फाइल पठाएको थियो ।

बोर्डनिकट उच्च स्रोतका अनुसार सरकारी वकिलको कार्यालयले चैत २५ गते नै सुझावसहितको फाइल बोर्डमा पठाएको छ । सरकारी वकिलको कार्यालयबाट फाइल आएपछि के भयो भन्ने विषयमा बोर्डले कुनै पनि जानकारी गराउन चाहेको छैन ।

स्रोतका अनुसार प्रधानले जालसाजीयुक्त कारोबार गरेको भन्दै प्रतिवेदन तयार भएको छ । धितोपत्रसम्बन्धी ऐनको दफा ९८ मा जालसाजीयुक्त कारोबारमा ‘कसैले कसैसँग धितोपत्र खरिद-बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कारोबार गरेमा जालसाजी गरेको मानिनेछ । जसमा कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा’ जालसाजी युक्त कारोबार भनिने उल्लेख छ ।

‘प्रधानले आफू अध्यक्ष भएको समयमा आफूसँग भएको सेयर बिक्री गरेर निस्केको अनुसन्धानले देखाएको छ । यो भनेको सिधै भित्री कारोबार नै हो तर प्रतिवेदन तयार पार्दा जालसाजी भनिएको छ’ बोर्डका एक कर्मचारीले भने, ‘यो कुनै हालतमा पनि जालजासीयुक्त कारोबार हुन सक्दैन । जालसाजीयुक्त कसरी भयो भनेर कसैले प्रमाण खोज्यो भने चित्त बुझ्दो जवाफ दिने ठाउँ छैन । यसमा बोर्डमा माथिल्लो तहका हाकिमले के देखेर, के बुझेर, कस्तो प्रभावमा परेर प्रतिवेदन तयार पारेको हो त्यो सिधै बुझ्न सकिँदैन ।’

यो विषय सार्वजनिक भएपछि बोर्डका उच्च पदस्थ अधिकारीले भित्री कारोबारमा संलग्न व्यक्तिलाई कार्यालयभित्र र कार्यालयबाहिर पटक-पटक भेट्ने गरेको भन्दै बोर्डमा चर्चा हुन थालेको उनले बताए । ‘यसले पनि के देखेर गरेको अनुसन्धान के हुन लाग्यो भनेर आशंका गर्न सकिन्छ,’ बोर्ड व्यवस्थापन पक्षकै ती कर्मचारीले भने, ‘यस्तै कारोबारमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपानेविरुद्ध भित्री कारोबार गरेको भनेर चैत ८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने, अनि सोही प्रकृतिको अर्को कारोबारलाई जालसाजीयुक्त भन्न मिल्दैन होला कि ? त्यो हामी साना मान्छे बुझ्दैनौँ, उच्च नेतृत्वलाई जे लाग्यो त्यही हुन्छ ।’

कुनै व्यक्तिले जालसाजीयुक्त कारोबार गरेमा एकदेखि तीन लाख रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद सजाय वा दुवै हुनेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीसमेत भराई दिनुपर्नेछ भन्ने व्यवस्था ऐनको दफा १०१ को ३ मा छ । १०१ मा दण्ड सजायको व्यवस्था छ ।

न्यौपानेले रिडी पावर कम्पनीमा अध्यक्ष रहँदा २०७७ चैत १९ गतेदेखि २०७८ भदौ २४ गतेसम्म रिडी हाइड्रोपावरको सेयर बेचेका थिए । उनलाई सेबोनले ७५ हजार जरिवाना, १० वर्ष सूचीकृत कम्पनीको सञ्चालक र महाप्रबन्धक बन्न नपाउने गरी कारबाही गरेको छ ।

न्यौपानेले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत धितोपत्र कारोबार गरेको भन्दै कारबाही गरेको हो । त्यति मात्रै नभएर न्यौपानेले भित्री कारोबार गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले सरकारी वकिलको कार्यालयको राय लिएर चैत ८ गते ३ करोड २३ लाख ९७ हजार ३९८ रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु