वाणिज्य बैंकको प्रधान कार्यालयसहित तीन ठाउँको सम्पत्तिको कागजात नै छैन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालय रहेको थापाथली, पशुपतिनगर र लहानको जग्गालगायत २ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ सम्पत्तिको स्वामित्वसम्बन्धी कागजात बैंकसँग नभएको पाइएको छ ।
प्रयोगमा आइसकेको वसन्तपुरस्थित भवन ६ करोड २३ लाख र विगत वर्षमा सम्पन्न भइसकेका र प्रयोगमा रहेका लिज होल्ड खर्च, दरबार मार्गस्थित भवन र पोखरास्थित एनआईडीसी भवन पुँजीकरण गर्न बाँकी रहेको महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा उल्लेख छ ।
यस्तै नेपाल औद्योगिक विकास निगम गाभिएपछि कायम भएका सहरी तथा व्यापारिक कारोबार बढी भएका स्थानको सम्पत्तिको समुचित व्यवस्थापन गर्न नसकेको उल्लेख छ ।
यस्तै एक सिमेन्ट कम्पनीमा गरिएको लगानीलाई शतप्रतिशत क्षयीकरण गरी शून्य मूल्यमा देखाएको, बैंकको सेयर लगानी प्रतिशतसमेत पुष्टि हुन नसकेको र उक्त कम्पनीको स्वामित्वमा रहेको जग्गा प्राप्त गरी सरकारको निर्णयबमोजिम क्षतिपूर्ति प्राप्त हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।