विश्वको आर्थिक वृद्धिदर १९९० यताकै कमजोर: आईएमएफ



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ को विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

आईएमएफकाअनुसार सन् २०२३ पछि आगामी पाँच वर्षसम्म विश्वकै आर्थिक बृद्धि तीन प्रतिशतकै वरपर रहनेछ । यो प्रक्षेपण विश्व अर्थतन्त्र वृद्धिको सन् १९९० यताकै कमजोर स्थिति हुने जनाइएको छ ।

आईएमएफकाअनुसार सन् २०२३ मा वैश्विक आर्थिक वृद्धिको आधा हिस्सा भारत र चीनमार्फत हुनेछ भने करिब ९० प्रतिशत आर्थिक रुपमा सम्पन्न देशहरुले यो वर्ष आफ्नो आर्थिक वृद्धिमा गिरावट देख्नेछन् । आईएमएफकी प्रमुख क्रिष्टिलिना जोर्जिभाले आगामी साता हुने विश्व बैंक र आईएमएफबीचको बैठकका लागि तयार गरेका टिपोटहरुबाट उदृत गर्दै यो कुरा बताएकी हुन् । उनले भनिन्, ‘यो यसअघि गरिएको प्रक्षेपणभन्दा कम हो र सन् १९९० यताकै न्यून हो ।’

उनले पछिल्लो २० वर्षमा औषतमा ३.८ प्रतिशत वृद्धि हुने भन्दै गरिएको प्रक्षेपणभन्दा पनि यसपटकका प्रक्षेपण कम भएको बताइन् ।

वैश्विक अर्थतन्त्रको नाजुक अवस्था आउनबारे गरिएको प्रक्षेपणमा रसिया र युक्रेनबीचको द्वन्द्वलाई कारक मानिएको छ । कोरोना महामारीपछि तंग्रिदैं गएको अर्थतन्त्रलाई यो द्वन्द्वले पुनः पछाडि धकेलिदिएको छ ।

युद्धका कारण तेल, प्राकृतिक ग्यास, मलखादलगायतका वस्तुहरुको वितरण प्रणाली नै बिग्रिएका कारण विभिन्न देशहरुले आर्थि मन्दीको सामना पनि गर्नु परेको छ ।

‘यो विपत्तिले निदोर्ष मानिसहरुलाई मात्र मार्दैन,’ आईएमएफकी प्रमुख क्रिष्टिनाले भनिन्,‘ यसले जीवनयापनको लागत संकटलाई पनि तहसनहस बनाएर विश्वभर भोकमारी ल्याउन सक्छ । यसले विगत तीन दशकदेखि हामीले पाएको शान्तिलाई मेटाउने जोखिम छ ।’


क्लिकमान्डु