छरिएका रकमहरु पुँजीको रुपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छः माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताएका हुन् । उनले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताए ।
यसो गर्दा लगानीमा उपयोग हुनसक्ने र लगानीको निम्ति पैसाको अभाव नहुने स्थिति बन्ने उनको भनाइ छ ।

‘सहकारीको बेग्लै महत्व हुनेगर्छ । कसैले सहकारीलाई निजीभित्र राखेर दुई वटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन् । होइन, यसलाई महत्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रुपमा तीनवटा खम्बाको रुपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन् ।

‘नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । यो तीन खम्बा भित्र निजी, सहकारी, राजकीय क्षेत्र पर्छ । यि तीनको अनुपात के हुनुपर्छ भन्नेकुरा पनि बहसको विषय छ । निजी क्षेत्रले कति अनुपात ओगट्ने, सहकारीले कति र सरकारी क्षेत्रले कति भन्ने छलफल र बहस हुनुपर्छ’ नेपालले भने, ‘हामी चाहन्छौँ घरघरमा छरिएका सानासाना रकमहरु पुँजीको रुपमा जम्मा हुन पाए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरु उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रुपमा सञ्चय गर्नसके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुनसक्थ्यो । लगानीमा उपयोग हुनसक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन ।’

अध्यक्ष नेपालले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार अघि बढिसकेको उल्लेख गरे ।


क्लिकमान्डु