रुस-युक्रेनबीचको द्वन्द्वले दुबईमा घरजग्गाको मूल्य ५० प्रतिशतसम्म बढ्यो



एजेन्सी । अन्तर्राष्ट्रिय रुपमा आर्थिक संकुचन भइरहेको अवस्थामा दुबईमा ग्राहकको बजेटअनुसार घर पाउनै मुस्किल भएको छ । कोरोना महामारी र रुस-युक्रेनबीचको द्वन्द्वले अधिकांश देश महँगी र आर्थिक संकुचनमा फस्दा यूएईमा पनि महँगीले गर्दा मुख्य सहरमा सस्तो मूल्यमा घर पाउनै मुस्किल भएको हो ।

फेब्रुअरी र मार्च एरिथा प्रिटोरियसका लागि तनावपूर्ण महिना बने । हप्तौंसम्म उनी र उनका श्रीमान् क्रिस नयाँ घर खोज्दै दुबईमा घुमे । तर, पाएनन् । उनीहरू सन् २०१९ देखि सहरको केन्द्रमा रहेको तीन बेडरूमको भिल्लामा बस्दै आएका थिए ।

तर, गत वर्ष एरिथाको परिवारलाई घरधनीले भिल्ला छोड्नुपर्ने सूचना दिए । सूचनामा उक्त भिल्लामा घर धनी आफैँ बस्न चाहेकाले भाडा सम्झौता नवीकरण नगर्ने भनियो । त्यसपछि एरिथाको परिवारले सोही क्षेत्रमा घर खोज्न थाले । तर, घर खोज्दा आफूले भनेको मूल्यमा पाउन मुस्किल भयो ।

उनी बस्दै आएको भिल्लाको वार्षिक भाडा ३४ हजार अमेरिकी डलर थियो । तर, उनले तिर्दै आएको मूल्यभन्दा ७५ प्रतिशतले बढी भाडा पर्ने घरहरु मात्रै पाएको उनले बताइन् ।

उनीहरुले सहरका अन्य क्षेत्रहरूमा पनि भाडामा घरहरू खोजे तर आफ्नो बजेटमा घर पाउन सकेनन् ।  घर नपाएपछि सहरबाट टाढा बस्ने निधो गरे । उक्त घर अहिले बसेकोभन्दा निकै सानो छ । तर, वार्षिक भाडा भने ४५ हजार डलर छ, जुन पहिलाको भन्दा ३२ प्रतिशत धेरै हो ।

दक्षिण अफ्रिकाबाट सन् २०११ मा बसाइँसराइ गरी दुबईमा बस्दै आएकी एरिथा र उनका श्रीमानको अब सर्ने घर पाँचौं हुनेछ । करिब एक दशकको अवधिमा दुबईमा घरजग्गाको मूल्य ह्वात्तै बढेको उनको बुझाइ छ । विगतमा घर सहजै पाउँथ्यो । तर, यसपटक भने घर पाउनका लागि उनले धेरै संघर्ष गर्नुपर्‍यो ।

घरजग्गा एजेन्सी बेटर होम्सका अनुसार दुबईमा भाडा गत वर्ष औसत ३६ प्रतिशतले बढेको छ । भिल्ला खोज्ने मानिसहरूले मात्रै चुनौतीको सामना गरिहेका छैनन् । अपार्टमेन्टलगायत सबै क्षेत्रमा भाडा बढ्दा मुख्य सहर दुबईमा बस्न निकै कठिन अवस्था सिर्जना भएको छ ।

करिब एक करोड जनसंख्या भएको यूएईमा ९० प्रतिशत विदेशी नागरिक छन् । देशको अर्थतन्त्रको मेरुदण्ड बनेका प्रवासीको जीवन शैलीमा घरभाडा महँगीले भने निकै असर पारेको छ । एरिथा मात्रै नभएर अन्य विदेशी नागरिकहरु पनि भाडाका कारण मुख्य सहरभन्दा बाहिर बस्न बाध्य भएका छन् । आप्रवासीहरु अहिले जहाँ भाडा कम छ, त्यतातिर जान थालेका छन् ।

वकार अन्सरीको परिवार पनि दक्षिणी दुबईमा एक बेडरूमको अपार्टमेन्टमा बस्दै आएको थियो । उक्त अपार्टमेन्टको भाडा वार्षिक ९ हजार ५ सय अमेरिकी डलर थियो । गत महिना उनको भाडा सम्झौता म्याद सकिएको थियो ।

पुनः सम्झौता गरी बस्ने तयारीमा रहेका अन्सरी त्यतिखेर तनावमा आए, जतिखेर उनका घरबेटीले करिब ३ हजार अमेरिकी डलर भाडा बढाउने निर्णय सुनाए । भाडा बढाउने भएपछि अन्सरीले सुरुमा सोही इलाकामा नयाँ अपार्टमेन्ट खोजे तर त्यहाँ पनि भाडा ४० प्रतिशतले बढेको पाइयो ।

वकार १० देखि १५ प्रतिशतसम्म बढी रकम तिर्न तयार थिए । तर, दुबईमा उक्त बजेटमा अपार्टमेन्ट पाउनै मुस्किल भयो । त्यसैले, वकिर उक्त ठाउँ छोडर शारजाह जाने निधो गरे ।

दुबईस्थित बेटरहोम्स ग्रुपका प्रबन्ध निर्देशक रिचर्ड वान्डका अनुसार हालको बजारमा आपूर्तिभन्दा माग बढेको छ । अधिकांश मानिसको आकर्षण दुबई सहर हो, जसले गर्दा घर कम र मानिस धेरै छन् । मागअनुसार आपूर्ति गर्न नसक्नु भाडा वृद्धिको मुख्य कारण रहेको वान्डको भनाइ छ ।

दुबईको मूल्यवृद्धि विरोधी कानुनले घरधनीलाई अवस्थित भाडामा लिनेहरूका लागि २० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिन्छ । घरधनीले पनि कुनै वैध कारणबिना भाडामा बस्नेहरुलाई हटाउन सक्दैनन् ।

तर, पछिल्ला दिनमा घरधनीहरुले महँगो भाडामा बिक्री गर्न बस्दै आएका मानिसलाई घरबाट निस्किनुपर्ने सूचना दिइरहेका छन् । घरधनीहरुले आफैँ बस्ने भन्दै घर खाली गर्न विदेशी नागरिकलाई भनिरहेका छन् ।

दुबईमा घरभाडाले नयाँ रेकर्ड कायम गरेको छ । त्यति मात्रै नभएर घर खरिद र किन्नेको लागत पनि निकै बढेको छ ।

घरजग्गा एजेन्सी सेविल्सका अनुसार २०२० को तुलनामा सन् २०२२ मा अपार्टमेन्टको मूल्य ३५ प्रतिशतले बढेको छ । अपार्टमेन्टको मूल्य ३५ प्रतिशतले वृद्धि हुँदा सोही अवधिमा भिल्लाको मूल्य भने ५० प्रतिशतले बढेको छ ।

दुबईमा रहेका सेविल्स मिडिल इस्टका एसोसिएट डाइरेक्टर केटी बर्नेलले दुबईमा घरजग्गाको मूल्य बढ्नुको मुख्य कारण रुस-युक्रेन द्वन्द्व रहेको बताइन् । उनका अनुसार रुस-युक्रेनबीच द्वन्द्व सुरु भएसँगै दुबईमा रुसीहरुको आगमन बढेकाले घरजग्गा कारोबार उच्च माग छ ।

रुसकै कारण भाडा बढेको हो ?

रुसी अर्बपति तथा स्टार्टअप व्यवसायीको मुख्य आकर्षणको केन्द्र दुबई सहर बनेको छ । रुसी नागरिक रोजगारीको खोजीमा यो सहरमा पुगेका छन् । साथै, धेरै बहुराष्ट्रिय कम्पनीहरूले पनि आफ्ना कर्मचारीलाई रुसबाट दुबई पठाएका छन् ।

गत वर्ष दुबईको घरजग्गामा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय लगानीकर्ता नै रुसी थिए । बर्नेलका अनुसार रूसीहरूमाथि बस्न र सम्पत्ति खरिद गर्ने सम्बन्धमा धेरै प्रतिबन्ध छन् । तर, उनीहरूलाई यूएईमा त्यस्तो कुनै समस्या छैन ।

यहाँ उनीहरू व्यापार गर्न र आर्थिक गतिविध गर्न सक्छन् । यो सुविधाको कारणले गर्दा, रूसीहरूले वास्तवमा बजार घरजग्गाको मूल्यमा ध्यान दिइरहेका छैनन् । उनीहरु जति भन्छन्, त्यही मूल्य तिर्न इच्छुक छन् ।

युद्धका कारणका लाखौं मानिसले रुस छाडेका छन् । फोर्ब्स रसियाको रिपोर्टअनुसार गत वर्ष सेप्टेम्बरमा राष्ट्रपति पुटिनले आंशिक परिचालन र भर्तीको आदेश दियता ७ लाख रूसी नागरिकले देश छाडेका छन् । यद्यपि, क्रेमलिनले प्रतिवेदनमा उल्लिखित तथ्यांकलाई अस्वीकार गरेको छ ।

यूएईले रुसीहरूलाई भिसा दिइरहेको छ । जबकि, धेरै पश्चिमी देशहरूले उनीहरूलाई प्रतिबन्ध लगाएका छन् । महामारीपछि यूएईले नयाँ दीर्घकालीन भिसा दिने विकल्पहरू प्रस्तुत गरेको छ । जसका कारण ठूलो संख्यामा लगानीकर्ता, श्रमिक र उद्यमी यूएईतर्फ आकर्षित भएकाले रोजगारीका अवसर थपिएका छन् ।

यसले देशमा महामारीको सामना गर्न र विभिन्न देशका लगानीकर्तालाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । गत वर्ष दुबईले ८६ हजारभन्दा बढी आवासीय घरको किनबेच गरेको थियो । जुन हालसम्मकै उच्च हो ।

यूएईले सन् २००९ मा ८० हजार आवासीय घर बिक्री गरेको थियो । उक्त रेकर्डलाई तोड्दै गत वर्ष यूएईले हालसम्मकै उच्च कारोबार गरेको हो ।

गत वर्ष करिब ५६ अर्ब ६ करोड अमेरिकी डलरको सम्पत्ति बिक्री भएको थियो । जुन २०२१ को तुलनामा करिब ८० प्रतिशत बढी हो ।

घरजग्गा एजेन्ट रिचार्ड वान्डले तीन वर्षमा कोरोना महामारी र रुस-युक्रेन युद्ध जस्ता विश्वव्यापी घटनाले घरेलु घरजग्गा बजारलाई बढावा दिएको छ ।

एक वर्षयता घरजग्गा कारोबार कम्पनीले आवासको बढ्दो मागलाई पूर्ति गर्न धेरै नयाँ परियोजना घोषणा गरेका छन् । आपूर्तिमा दबाब कम गर्न ठूलो संख्यामा नयाँ आवास बन्नुअघि कम्तीमा अर्को दुई वर्षसम्म भाडा उच्च रहने अनुमान गरिएको छ ।


क्लिकमान्डु