लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ



काठमाडौं । रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै युवराज पौडेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध पौडेलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकताबाट राहदानी लिएका लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचाउने निर्णय गरेपछि पौडेलले सर्वोच्चमा रिट हालेका हुन् । रिटमा महान्यायाधिवक्ताको निर्णय बदर हुनुपर्ने र लामिछानेमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गरिएको छ ।

नागरिकता दुरुपयोगको उजुरीमा अनुसन्धानपछि प्रहरीले लामिछानेविरुद्ध मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेस गरेको थियो । त्यही प्रतिवेदनका आधारमा नागरिकता दुरुपयोग नभएको ठहर गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्‍यो । सोही निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेपछि अधिवक्ता पौडेलले रिट दायर गरेका हुन् ।


क्लिकमान्डु