रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेमाथि गगन थापाको कडा टिप्पणी



तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वर्णिम वाग्लेमाथि कडा टिप्पणी गरेका छन् । तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ताअघिको चुनावी सभामा उनले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका वाग्लेमाथि कडा टिप्पणी गरेका हुन् ।

रास्वपा उम्मेदवार वाग्लेको नाम नलिईकन उनले भने, ‘पञ्चायतको कालरात्रिका बेला शान्तिपूर्ण ढंगले जीवन बिताउँछु मात्र भनेको भए राष्ट्रिय पञ्चायतको सदस्य र मन्त्री पाउने नेताहरुको अगाडि संघर्षको कुरा गर्न सुहाउँदैन ।’

आफूसँगै आफूजस्ता केही नेताले पनि मन्त्री र सांसद बन्छु कि बन्दिन भनेर नहेरेको उनको भनाइ छ । ‘त्यसो हेरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु मेरो समर्थक नबस्ने र म पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्ने थिइन,’ उनले भने, ‘गगन थापाको समर्थक बस्दै गर्दा मुखमै आएको मन्त्री बन्ने अवसरबाट वञ्चित भइन्छ भन्ने थाहा भए पनि उहाँहरु बस्नुभयो, म पनि चुनाव लडेँ, विश्वप्रकाश, प्रदीप, बद्री पाण्डेलगायतका साथीहरु मेरो वरिपरि उभिनुभयो ।’

राजनीतिमा क्षणिक लाभहानीले अर्थ नराख्ने उनको तर्क छ । ‘हामी पार्टीभित्र संघर्ष गरिरहेका छौं र निरन्तरको संघर्षबाट कांग्रेसमा बदलाव आउनेछ,’ कांग्रेस परिवर्तन नभएकाले र देउवा–आरजु गिरोहको कब्जामा रहेको वाग्लेको आरोपलाई खण्डन गर्दै उनले भने, ‘एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरामा मबाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथेँ ।’

कांग्रेसमा सुधार ल्याउन आफूहरुले लडाइँ लडिरहेकाले भ्रममा नपर्न देशभरिका युवालाई महामन्त्री थापाले आग्रह गरे । वाग्लेको नाम नलिई उनले भने, ‘मलाई त भन्न मन लाग्छ, तिमी त विदेश बसेर पढेको, जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको ।’


क्लिकमान्डु