निर्यातमा ४.१०% हिस्सा ओगटेको डाबर नेपालले गर्यो एकै वर्ष १३ अर्ब बढीको व्यापार



काठमाडौं । डाबर नेपाल प्रालिले एक वर्षमा १३ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँको व्यापारको गरेको थियो । कम्पनीअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको व्यापार २१.७१ प्रतिशतले बढेको छ ।

डाबर इन्डिया लिमिटेडको सहायक कम्पनीको रुपमा सन् १९९२ देखि निरन्तर व्यापार गर्दै आएको कम्पनीले विभिन्न प्रकारका जुस, च्यावानप्रास, ग्लुकोज, मन्जन, कपालमा लगाउने तेल, डाइजेस्टिभ ट्याबलेट (हजमोला) र मह बिक्री बिक्री वितरण गर्दै आएको छ ।

भारतीय बजारमा ठूलो हिस्सा ओगटेको डाबरले सन् २०२२ मा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको कोरोबार गरेको थियो । त्यस्तै, सन् २०२३ को मार्चसम्ममा कम्पनीको बजार पुँजीकरण ९ खर्ब ३५ अर्ब रहेको इक्राले जनाएको छ । डाबरले हेल्थ केयर, पर्सनल केयर र विभिन्न खाने वस्तु गरी २५० वटाभन्दा बढी हर्बल र आयुर्वेदिक वस्तुको व्यापार गर्दै आएको छ । कम्पनीले विश्वका एक सयभन्दा बढी देशमा कारोबार गर्दै आएको छ ।

त्यस्तै, डाबरको नेपालमा रहेको सहायक कम्पनीले वार्षिक अर्बौ रुपैयाँको कारोबार गर्दै आएको जनाएको छ । कम्पनीको देशभर तीन सयभन्दा बढी वितरक र एक लाखभन्दा बढी खुद्रा व्यापारी छन् ।
त्यसैगरी, कम्पनीले सन् २०२२ मा ९.९० प्रतिशत नाफा कमाएको छ । कम्पनीअनुसार सन् २०२२ मा कच्चा पदार्थको मूल्य उच्च हुँदा नाफामा असर पुगेको छ ।

नेपालमा कम्पनीको डाबर, रियल, हजमोला निकै प्रसिद्ध ब्रान्ड हुन् । कम्पनीले डाबर ब्रान्डमा आयुर्वेदिक र हर्बल सेग्मेन्टको वस्तु बिक्री वितरण गर्दै आएको छ । साथै, रियल, एक्टिभ र ब्रस्ट ब्रान्डमा ४० वटाभन्दा प्रकारका जुस बिक्री वितरण गर्दै आएको उल्लेख छ ।

कम्पनी घरायसी तथा पर्सनल केयर सेग्मेन्टमा बाटिका ब्रान्डमा पर्सनल केयर बिक्री गर्दै आएको छ भने हेल्थ केयर सेग्मेन्टमा हजमोला, क्यान्डिमा डाइजेस्टिभ वस्तु र विभिन्न प्रकारका ट्याबलेट बिक्री गर्छ ।

कम्पनीले आफ्नो उत्पादन निर्यात पनि गर्दै आएको छ । सन् २०२२ मा २० प्रतिशतले निर्यात बढेको कम्पनीले जनाएको छ । नेपालबाट निर्यात भएको वस्तुमध्ये ४.१० प्रतिशत हिस्सा ओगटेको कम्पनीले सन् २०२२ मा मात्रै ८ अर्ब २० करोड ५० लाख रुपैयाँको निर्यात गरेको छ । जसमा कम्पनीले आम्दानी गरेकोमध्ये ६० प्रतिशत हिस्सा निर्यातको रहेको छ । कम्पनीले विशेषगरी जुस र डाइजेस्टिभ वस्तु निर्यात गर्दै आएको छ ।

कम्पनीले सबैभन्दा बढी आम्दानी फुड सेग्मेन्टबाट गरेको छ । जसमा फुडको हिस्सा ७० प्रतिशत छ । त्यसबाहेक अन्य वस्तुको हिस्सा ३० प्रतिशत रहेको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि ६ अर्ब ६० करोड रुपैयाँको अर्थात् ए वान प्सल रेटिङ पाएको छ ।


क्लिकमान्डु