बालेनले सरकार फेरिरहने भनेपछि प्रधानमन्त्रीले भने: यो सरकार पाँच वर्ष टिक्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म टिक्ने बताएका छन् ।

बुधबा राष्ट्रिय सभागृहमा आयोजित न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार पाँच वर्ष टिक्ने दाबी गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री भन्दा पहिला मन्तव्य राखेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकार नटिक्ने र फेरिरहने गरेको भनेपछि प्रचण्डले त्यसको जवाफमा भने, ‘बालेनजीले अघि आफ्नो विषय राख्दै गर्दा सरकारको निरन्तरताको कुरा राख्नु भयो । म के भन्न चाहन्छु भने स्थानीय तहको निर्वाचन पछि हामीले संघ र प्रदेश तहको निर्वाचन गर्यौं । त्यसपछि सरकार एउटै छ । मेरै नेतृत्वमा सरकार छ । मलाई विश्वास छ यो सरकार पाँच वर्षसम्म जान्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको र त्यसमा तीन तहको सरकारको परिकल्पना र गाउँ गाउँमा सिंहदरबारको परिकल्पना गर्ने अवसर आफूलाई पनि प्राप्त भएको बताउँदै प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको आन्दोलनकै आडमा संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र र तीन तहको सरकार बनाउने काम भएको तर्क गरे ।

उनले भने, ‘त्यो सरकार बनाउने बेलामा पनि स्थानीय तहलाई बनाउने बेलामा पनि मैले एक पटक फेरि प्रधानमन्त्रीको रुपमा भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ । आज स्थानीय तहको दोस्रो संस्करणको निर्वाचन सम्पन्न भइसकेपछि यो प्रथम राष्ट्रिय सम्मेलन न्यायिक समितिको तयसको उद्घाटन गर्दा र यसको सफलताको शुभकामना व्यक्त गर्दै गर्दा मलाई विशेष हर्षको महसुस पनि भएको छ ।’


क्लिकमान्डु