राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना नयाँ कर्मचारीलाई पूर्व सेवाकालीन तालिम प्रदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई आइतबारबाट १४ दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई आधुनिक गुणस्तरीय बैंकिङ्ग सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए ।
अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।
कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।