‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसूरको मुद्दा



काठमाडौं । चलचित्र निर्माता सुवास थापाविरुद्ध बैंकिङक कसूरको जाहेरी दर्ता भएको छ । ‘प्रसाद २’ फिल्मका निर्मातासमेत रहेका थापाविरुद्ध अर्का फिल्म निर्माता केशव पाण्डेले जाहेरी दिएका हुन् । थापाविरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसरमा जोहरी दर्ता भएको हो ।

थापाविरुद्ध जाहेरी दिने पाण्डे पनि प्रसाद २ फिल्मका पूर्व निर्माता हुन् । फिल्मको निर्माणको क्रममा विवाद भएपछि पाण्डे उक्त फिल्मको निर्माण पक्षबाट बाहिरिएका थिए । आन्तरिक कारणले पटक पटक ‘प्रसाद २’ फिल्म विवादमा पर्दै आएको छ ।

थापाविरुद्ध परेको जोहरीमा गत माघ १९ मा उनले कालीमाटीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खाताका चार चेक दिएको तर, उक्त खातामा पर्याप्त मौज्दात नगरेको भनिएको छ । पाण्डेले थापाले फिल्म निर्माण गर्ने क्रममा मुनाफा बाँड्ने भन्दै आफूलाई प्रलोभनमा पारेको र एक वर्षअघि लिएको उक्त रकम पनि पटक पटक फिर्ता माग्दा समेत नदिएको भन्दै जोहरी दिएका छन् ।

प्रसाद २ अहिले प्रदर्शनको संघारमा रहेको फिल्म हो । चैत २४ गतेबाट प्रदर्शनमा आउने भनिएको यो फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेका छन् ।


क्लिकमान्डु