दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ
काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ तोकेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै ४ युनिट फ्याट र ८ युनिट एसएनएफ दुध प्रतिलिटरको न्यूनतम मूल्य ६५ रुपैयाँ तोकेको जनाएको छ ।
गत वर्षको तुलनामा उत्पादन सामाग्रीहरु आहारा (दाना, चोकर, ढुटो, पराल, घांस आदि), श्रमिकको ज्याला, मुद्रास्फीति, औषधि उपचार, स्थिर पूँजीलगायत अन्य व्यवस्थापन खर्चमा भएको वृद्धिले गर्दा किसानले उत्पादन गर्ने दुधको उत्पादन लागत बढेको छ ।
उक्त खर्चमा भएको वृद्धिले गर्दा किसानले लागतअनुसार दुधको न्यूनतम मूल्य पाउन अति आवश्यक भएकोले दुधको मूल्य पुनरावलोकन गरेको बोर्डले जनाएको छ ।
कृषकले प्राप्त गर्ने न्यूनतम कच्चा दुधको मूल्य पुनरावलोकन एवं समायोजनका लागि बोर्डले अध्ययन गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारीस गरे बमोजिम गत फागुन १९ गतेको मन्त्रीपरिषद्को निर्णयले दुधको मूल्य बढाएको थियो ।
सरकारले कृषकले उत्पादन गरेको कच्चा दुधको मूल्य उत्पादन स्थल (फार्म) वा संकलन केन्द्रस्तरमा प्रति युनिट फ्याट ७.१५ र प्रति युनिट एसएनएफको ४.५५ रुपैयाँको दरले कच्चा दुधको बढाएको थियो ।
सोहीअनुसार बोर्डले बजारमा खरिद तथा बिक्री गर्नका लागि ४ युनिट फ्याट र ८ युनिट एसएनएफ दुधको प्रति लिटरको न्यूनतम मूल्य ६५ रुपैयाँ तोकेको जनाएको छ ।