राष्ट्रपति भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न: ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए ।

‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईंहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर , त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने । र, त्यो जिम्मेवारी एक पटक मात्रै होइन,’ ओलीले भने, ‘ फेरि उहाँ जिद्धी गरेर यहाँ रहनै पर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर राष्ट्रपति बनाइएको थियो ।’


क्लिकमान्डु