सरकारका वाणिज्य नीतिहरु तथ्य-तथ्याङ्कमा आधारित छैनन्ः वाग्ले



काठमाडौं । अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्राडा अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् ।

मंगलबार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा वाग्लेले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म प्रभावकारी काम हुन नसक्ने बताए ।

नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात गर्नका लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने वाग्लेले बताए । सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिए ।

‘नेपालमा जति पनि वाणिज्य दिगोपनको लागि नीतिहरु बनिरहेका छन् । त्यस्ता नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैन । त्यस्ता नीतिलाई परिवर्तन नगरी नेपालमा उत्पादन भएर निर्यात हुनसक्ने वस्तुको सम्भाव्यता के हुन्, कुन आकारमा निर्यात हुन्छ, अहिलेसम्म सरकारले बनाएका नीतिहरु के भएर फेल भए भन्ने बारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रस्तुत हुन्छ’ उनले भने, ‘नेपालको हकमा व्यापारको धेरै चासोको विषय छ । नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्नेछ । सबै अनियमितता, न्यून विजकीकरण हेर्दा कुल गार्हस्थ्य उत्पादनको प्रतिशत जतिकै व्यापार घाटा हुने देखिन्छ । कुनैपनि रुपमा दिगो छैन । यो आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण छ ।’

उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण रहेको बताए ।

सम्मेलन मंगलबार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ।


क्लिकमान्डु