प्रचण्डविरुद्ध रिट दिएकाको प्रश्न: ५ हजारको जिम्मा लिन्छु भन्ने देशको प्रधानमन्त्री बन्न मिल्छ ?



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

२०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता गरेका छन् ।

रिट दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रिट निवेदक कल्याण बुढाथोकीले २६ जना भएर दुई वटा मुद्दा दर्ता गरेको बताए । उनले द्वन्द्वकालमा कानून विपरितका जघन्य अपराधका विषयमा रिट दर्ता गरेको बताए ।

‘२६ जनाले दुई वटा रिट निवेदन दर्ता गरेका छौँ । हिजो द्वन्द्वकालमा कानून विपरितका जघन्य अपराधका जो गरेका थिए, माओवादीहरुले त्यही विषयमा रिट निवेदन गरेका छौँ’ उनले भने ।

रिट निवेदक शिवकुमार बुढाथोकीले प्रधानमन्त्री प्रचण्डले ५ हजार आफूले जिम्मा लिने भनिसकेकाले मानिस मारेको व्यक्ति कानूनको कठघरामा उभिनु पर्छ की पर्दैन ? भन्दै प्रश्न गरे ।

उनले तत्कालीन समयमा आफ्नो सबै सम्पत्ति माओवादीले लुटेको र अहिले प्रधानमन्त्री भएको बेलामा फिर्ता गर्न माग गर्दै आफूले रिट दर्ता गरेको बताए ।


क्लिकमान्डु