प्रचण्डविरुद्ध मुद्दा दर्ताको तयारी भएपछि माओवादी घटकहरुले भने: हामी एकमत छौँ



काठमाडौं । माओवादी घटकहरुले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुबीचको बैठकले शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्छ भन्नेमा आफूहरु दृढ रहेको जनाएका छन् ।

माओवादी घटकहरु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’,नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्ने उल्लेख गरेका छन् ।

‘संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कार्वाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्‍याउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौँ । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘ शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौँ । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौँ ।’

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएसँगै पूर्व माओवादी घटकहरु एक ठाउँमा भेला भएका हुन् । जनुयुद्धका क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भन्ने प्रचण्डको केही वर्षअघिको भनाइविरुद्ध सर्वोच्चमा रिट पेस भएको थियो । तर सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि इजलासमा निवेदन पेस भएको थियो ।


क्लिकमान्डु