कर्जा तिर्नैपर्छ, दबाब समूह बनाउँदैमा मिनाहा हुँदैनः डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्नेभन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका छन् ।

व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाइ कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न उनले आग्रह गरे ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट जसले कर्जा प्राप्त गर्नुभएको छ । यसले कर्जा तिर्नुपर्दैन, अब कर्जा तिर्दिन । कर्जा नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन । यो गर्न नहुने काम हो’ उनले भने, ‘अहिले दैनिक जीवनमा देखिएका कालोमोसो लगाउन दस्ता बनाउने कामले समाजमा विश्रृंखलता पैदा गर्छ । बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्न आग्रह छ । बैंक वित्तीय संस्था लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको होइन । त्यो नेपाली दाजुभाई दिदिबहिनीहरुले बैंकमा राखेको पैसा हो ।’

डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुले कर्जा दिन्नभन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने बताए ।

उनले बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नेहरुलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने बताए ।
‘बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भनि कसैले कुनैपनि क्षेत्रबाट प्रोत्साहन दिन हुँदैन’ मिश्रले भने ।

बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायीहरुले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी रहेको मिश्रले जानकारी दिए ।

राष्ट्रिय,अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएको कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका केन्द्रीय बैंकहरुले ब्याज बढाएको कारण धेरै देशको आर्थिक अवस्थामा सकस पर्न गएको मिश्रले बताए ।


क्लिकमान्डु