‘दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठग्न सक्छन्, सतर्क रहनुहोला’



‘मौसमी कामदार’मा पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय बनिरहेका बेला वैदेशिक रोजगार विभागले सचेत गराएको छ । विभागले सूचना जारी गरी दक्षिण कोरिया या अन्य कुनै पनि मुलुकमा ‘मौसमी कामदार’मा पठाइदिन्छु भन्नेको विश्वास नगर्न आग्रह गरेको हो ।

मौसमी कामदार पठाउने भन्दै विभिन्न अनलाइन माध्यममा भ्रामक सूचना प्रकाशन गरी दक्षिण कोरियालगायतका मुलुक पठाउने नाममा ठगी हुन लागेको जानकारी आएको विभागले जनाएको छ ।

त्यस्तै मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ को दफा ४ अनुसार विदेश जाँदा  शुल्क तिर्नुपर्ने व्यवस्था नरहेकोप्रति पनि विभागले स्पष्ट पारेको छ । ‘तर ठगी गर्ने गिरोहले रकम उठाउँदै ‘मौसमी कामदार’का रुपमा विदेश पठाइदिन्छु भनेको पाइएको छ,’ विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा भनिएको छ, ‘मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाका लागि सम्बन्धित नियोग र विभागमा कुनै कामजात पेस भएको छैन ।’

विभागले कुनै अन्योल या आशंका भए वैदेशिक रोजगार विभाग या सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टर वा अन्य नम्बरमा फोन गरी सत्यतथ्य बुझ्न पनि सबैसँग आग्रह गरेको छ ।


क्लिकमान्डु