होटल मेची क्राउनमा थप दुई वटा भवन बन्ने, २५१ वटा कोठामा ४८५ शय्याको सुविधा



काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका वडा–८ मा रहेको होटल मेची क्राउनमा थप दुई वटा भवन बन्ने भएको छ । भेगास सिटी इन्टरटेन्मेन्टद्वारा सञ्चालित होटलमा दुई वटा भवन थप भई १५० कोठामा ३०० वटा शय्यामा स्तरोन्तती गर्ने भएको हो ।

होटलमा अहिले १०१ कोठामा १८५ शय्या छन् । उक्त होटलको क्षमता बढाउनका लागि कम्पनीले वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्याङ्कन पेश गरेको छ ।

कम्पननीअनुसार हाल भएको १०१ कोठामा १८५ शेय्याको क्षमतामा सञ्चालन भइरहेको होटलमा थप १५० वटा कोठामा ३०० शय्या थप गरी २५१ वटामा ४८५ शय्या क्षमताको होटल निर्माण तथा सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

होटलमा अहिले स्पा, साउना, स्वीमिङ पुल, जिम हल, क्यासिनोलगायत विभिन्न सुविधाहरुको व्यवस्था छ । होटलमा सन् २०२२ को ११ महिनामा भारतीय र नेपाली गरी १४ हजार २८४ वटा पर्यटकले सेवा लिएको उल्लेख छ । सन् २०२२ को ११ महिनामा ४ हजार २५१ जना नेपाली र ९ हजार ९६७ जना भारतीय नागरिकले होटलको सुविधा लिएको छ ।

कम्पनीले उक्त होटल कुल ६ विघा ११ कठ्ठा १७.९ धुर जग्गा क्षेत्रफलमा फैलिने गरी प्रस्ताव गरेको छ । अहिले सञ्चालनरत होटल ३ विघा ३ कठ्ठा र ६.८ धुरमा फैलिएको छ भने प्रस्तावित प्रतिवेदनमा थप ३ विघा ३ कठ्ठा ११.१ धुर थप गरी ६ विघामा होटलको व्यवस्था गर्ने तयारी गरेको हो । कम्पनीले उक्त जग्गा क्षेत्रफलमध्ये ५ कठ्ठा मात्रै भाडा लिएको जनाएको छ ।

बलराम सापकोटा सञ्चालक रहेको यस कम्पनीले थप २ वटा भवन बनाउने भएको हो । हाल ९ वटा भवनमा १०१ कोठाहरु छन् । त्यसमा क्षमता बढाउने भन्दै कम्पनीले १५० वटा कोठाको २ वटा भवन निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ । कम्पनीअनुसार क्षमता बढाउनका लागि प्रस्ताव गरिएको भवनको तल्लाको कुल क्षेत्रफल ७ हजार ९६९.१३ वर्गमिटर कायम गरेको छ ।

सञ्चालनमा रहेको भवन र नयाँ निर्माण गर्ने तयारी गरेको भवनसहित अब होटलका भवनको तल्लाको कुल क्षेत्रफल २० हजार ५२६ वर्गमिटरमा फैलिनेछ । होटलमा अहिले ९ वटा भवनमध्ये ५ वटा भिल्ला छन् । त्यसमा भवन १ मा रिसेप्सन, लबी, रेष्टुरेन्ट, सेमिनार हल तथा कार्यालयसहित ८१ वटा पाहुना कोठा छन् । त्यसैगरी, भवन दुईमा हेल्थ क्लबको लागि रिसेप्सन, लबी, पुल, बार, स्पा, चेन्जिङ कोठासहित जिम र ध्याक कक्षा छन् ।

भवन तीनमा गेमिङ क्लब, कार्यालयहरु, डाइनिङ, किचन, कार्यालय, मिटिङ हल, आइटी कोठा, भवन ४ मा सेमिनार हल, रेष्टुरेन्ट र कार्यालय छन् । त्यसबाहेक भवन पाँचदेखि नौसम्म कुल ५ वटा भिल्लामा २० वटा कोठा सञ्चालरत छन् ।

उक्त सञ्चालनरत कोठाले पर्यटकहरुका लागि पर्याप्त नभएपछि थप गर्न लागिएको कम्पनीको भनाइ छ । कम्पनीले भवन १० मा रेष्टुरेन्ट र बारसहित ४ तल्लाको भवन निर्माण गर्नेछ । जसमा १०० वटा कोठाको व्यवस्था हुनेछ ।

त्यसैगरी, भवन ११ तीन तल्लामा निर्माण हुनेछ । जसमा ५० वटा पाहुना कोठा हुनेछन् । यससँगै, होटलमा पार्किङका लागि थप १ कठ्ठा क्षेत्रफल छुट्याइएको छ । उक्त थप गरिएको पार्किङ क्षेत्रमा १५ वटा चार पाङ्ग्रे र २५ वटा दुई पाङ्गै सवारी साधन अट्ने कम्पनीको भनाइ छ । हाल सञ्चालनरत २ कठ्ठामा ३० वटा चार पाङ्ग्रे र ५० वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने क्षमता छ ।

सञ्चालनरत र प्रस्ताव गरिएको योजनाअनुसार आगामी दिनमा ४५ वटा चार पाङ्ग्रे र ७५ वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने क्षमतामा निर्माण हुनेछ । हाल होटलमा ९० जना पुरुष र २१ जना महिला गरी कुल १११ जना कामदारहरु कार्यरत छन् । होटलको थप भवनसँगै करिब ५० जना जनशक्ति थप गरी कुल १६१ जनाले रोजगारी पाउनेछन् ।


क्लिकमान्डु