कर राजस्वमा उच्च योगदान गर्ने सदस्यलाई परिसंघको सम्मान
काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । १२ मध्ये ८ नेपाल उद्योग परिसंघका सदस्यहरू छन् ।
राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आर्थिक वर्ष २०७७/७८ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घ्यू उद्योग, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस छन् ।
यस्तै, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सि.बी. फुड्स एण्ड फिड्स, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक र पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन सम्मानित भएका छन् ।
यसैगरी, रेमिटेन्स तथा मनि ट्रान्सफरमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड र व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल समेत सम्मानित भएका छन् ।
परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च कर तिर्ने परिसंघका सदस्यहरूलाई सम्मान गरे । उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरू रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए ।
उच्च करदाता हुनु व्यक्तिगत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान पनि भएको उनले बताए ।