वाणिज्य विभागले एकै दिन गर्यो १५ लाख रुपैयाँ जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १५ लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले गर्दै आएको अनुगमनबाट नियम विपरित व्यापार व्यवसाय गर्ने ७ वटा व्यवसायीलाई १५ लाख रुपैयाँ जरिवाना गरेको हो ।
विभागले गत फागुन ४ गते विभागबाट खटाई गएको बजार अनुगमन टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनल भित्र रहेका पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेका एयरपोर्ट टि कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एविपि मार्ट प्रालि, ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि र आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टि कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ, पिडि इन्टरप्राइजेज तथा होटल स्वनिङ गरी जम्मा ९ वटा पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरेको पाएको थियो । सोहीआधारमा विभागले अनुगमन गरी जरिवाना गरिएको विभागका निर्देशक एवं प्रवक्ता होमनाथ भट्टराईले बताए ।
त्यस्तै, विभागले उक्त फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुने गरी कुनै पनि काम कारबाही नगर्नु÷नगराउन निर्देशन दिएको छ ।