गणपति वनस्पतिले एकै वर्ष गर्‍यो सवा १२ अर्बको व्यापार



काठमाडौं । सफरी ब्रान्डको तेल, घ्यू र साबुन बेच्ने गणपति वनस्पति कम्पनीले एकै वर्ष सवा १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ८ अर्ब ५७ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ५ अर्ब ५१ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सफरी ब्रान्डको वनस्पति घ्यू र तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । यसका साथै, कम्पनीले साबुन, सर्फ, सोडियम सिलिकेट जार, टीना प्रिफर्म र पेट बोटल, कार्टुनजस्ता वस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले वार्षिक १ लाख २० हजार मेट्रिक टन तोरी प्रशोधन गरी तेल उत्पादन गर्दै आएको छ भने १२ हजार ३ सय मेट्रिक टन साबुनजन्य सेग्मेन्टमा वस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले प्रशोधन गरेको तोरीको तेल सफरी, सफरी हेल्थ, चक्र र रामदेव र लुगा धुने साबुन सफारी र लक्की ब्रान्डमा बजारमा बिक्री वितरण गर्दै आएको छ ।

लक्की ग्रुपद्वारा सञ्चालित कम्पनीमा अमित मोर, राजीव मोर र रिशीराज मोरको लगानी छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८ अर्ब १ करोड २८ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ३६ करोड २० लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ७ अर्ब ६५ करोड ८ लाख रुपैयाँ अर्थात् एफोर प्लस रेटिङ पाएको छ ।

बारा जिल्लाको सिमरामा रहेको कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये ५४ प्रतिशत निर्यातबाट गरेको जनाएको छ । तर, चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने निर्यात २६ प्रतिशतले घटेको कम्पनीले उल्लेख गरेको छ ।

भारत सरकारले यो वर्ष खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार शुल्क घटाएको छ । त्यसैले त्यसको प्रत्यक्ष असर नेपाली उद्योगहरुको व्यापारमा देखिएको छ ।

त्यस्तै, कम्पनीकाअनुसार सन् २०२३ को ५ महिनाको अवधिमा व्यापार १९ प्रतिशतले घटेको छ । जसमा कम्पनीले ५ महिनाको अवधिमा ४ अर्ब १४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । त्यसैगरी, कम्पनीले सन् २०२२ मा ८.०९ प्रतिशत मात्रै नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा १४.३७ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी बजारमा विभिन्न प्रकारको वस्तु उत्पादन गर्दै आएको छ । त्यसमा कम्पनीले गरेको व्यापारमा करिब ८५ प्रतिशत हिस्सा मात्रै कच्चा पदार्थको रहेको छ ।


क्लिकमान्डु