छाला जुत्ता व्यवसाय सङ्कटमा



कैलाली । कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन् ।

व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन् । जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन् ।

अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताउनुभयो । यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन् ।

छाला जुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको तीन दशक पुग्न थाल्यो भने कोहीले दुई दशक बिताइसकेका छन् ।

यही पेसाबाट जीवन धानेकाहरू अहिले व्यवसाय नचलेपछि भन्ने दिक्क छन् । विगत २३ वर्षदेखि यही पेसा गरिरहेका तिलबहादुर व्यापार खासै नचलेपछि श्रीमतीलाई सीप सिकाएर विदेश जाने तयारीमा छन् ।

‘लामो समयसम्म यो पेसा गरियो, विगतमा राम्रै चलेको थियो’, उनले भने, ‘अहिले पसल बन्द गरेर जान थालेको होइन, मैले जानेको सीप श्रीमतीलाई सिकाइरहेको छु । श्रीमतीले यो व्यवसाय धान्नेछिन् ।’

केही वर्ष विदेशमा धन कमाइपछि पुनः यही पेसामा फर्कने योजनासहित तिलबहादुर विदेश जाने तयारीमा छन् । ‘मसहित छ जनाले विदेशका लागि कागजात बुझाएका छौँ । सबैले पसल श्रीमतीलाई सुम्पने तयारी गरेका छौँ’, उनी भन्छन्, ‘कोरोना महामारीपछि हाम्रो व्यवसाय धेरै धरापमा छ । तयारी जुत्ताले हाम्रो व्यापार खासै चलेको छैन ।’

टीकापुरमा एक दर्जन बढी छाला जुत्ताका पसल छन् । यहाँ करिब ४० जनाले रोजगारी पाएका छन् । यहाँ छालाका जुत्ता हातैले बनाइन्छन् ।

लामो समयदेखि कच्चा पदार्थ किनेर आफैँले उत्पादन गरिने छाला जुत्ता टीकापुरको स्थानीय उत्पादित सामग्रीमा पर्दछन् । छाला जुत्ता पसलमा अहिले महिलाहरू पनि काम गरिरहेका देखिन्छन् ।

टीकापुरमा रहेका एक दर्जन पसलमध्ये सातवटा पसलमा महिला काम गरिरहेका हुन्छन् । महिला त्यहाँ कामदारका रूपमा नभइ कतिपयले आफैँ पसल सम्हालिरहेका छन् भने कतिपय श्रीमान्को सहयोगीका रूपमा काम गर्छन् ।

सन्तोषी नेपालीका श्रीमान्ले लामो समयदेखि छाला जुत्ता पसल गरे । यहाँको कमाइमा चित्त नबुझेपछि जुत्ता बनाउने सीप श्रीमतीलाई सिकाएर उनी हाल विदेशमा छन् । अचेल पसल उनीकी श्रीमती सन्तोषीले चलाइरहेकी छन् । सन्तोषीले जुत्ता, चप्पल आफैँ बनाउनेसमेत गरेका छन् ।

‘श्रीमान्बाट मैले सीप सिकेँ, यहाँको कमाइले पुग्दैन भन्दै उहाँ विदेश जानुभयो’, सन्तोषी भन्छिन्, ‘साँझ–बिहान घरको काम गर्छु । दिउँसो पसल आफैँले चलाएकी छु । जुत्ता बनाउन पनि सिकेकी छु । पसल चलेको छ ।’

पूजा नेपालीले पनि लामो समयदेखि श्रीमान्सँगै सहयोगीका रूपमा काम गरिरहेकी छन् । उनले कामदार राख्नुभन्दा आफैँ काम गरौँ भनी यो सीप सिकेका हुन् । पूजाका श्रीमान् मोहनलाल नेपालीलाई श्रीमती सहयोगी हुँदा सहज भएको छ । उनी नयाँ काम गर्छन् , उनकी श्रीमतीले पुरानो मर्मतको काम गर्छिन् ।’मेरो श्रीमती पसलमा सघाउँदा मलाई कामदार राख्नुपरेको छैन । अब उनलाई यो काम राम्ररी सिकाएर म पनि विदेश जाने तयारीमा छु’, उनले भने ।

जुत्ता पसलमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई हुने पाँचदेखि छ प्रकारका जुत्ता चप्पल पाइन्छन् । टीकापुरमा तयार हुने छालाका जुत्ता चप्पल अन्यभन्दा सस्तो र बलियो छन् । तर पनि बजार खासै नरहेको उनीहरूको गुनासो छ । टीकापुरमा उत्पादन भएका छालाका जुत्ता चप्पलको खपत यही हुन्छ । पछिल्लो समय आधुनिक जुत्ता चप्पल भित्रिँदा व्यवसाय खासै नचलेको उनीहरूको गुनासो छ ।


क्लिकमान्डु