उत्पादनभन्दा दोब्बर परिमाणमा फलफूलको आयात



काठमाडौं । नेपाल कृषि प्रदान देश भएपनि खर्बौ रुपैयाँको कृषिजन्य वस्तुको आयात गर्दै आएको छ । आन्तरिक उत्पादन निकै कमजोर हुँदा अधिकांश वस्तु विभिन्न देशबाट आयात गरी बजारको माग धान्दै आएको छ ।

नेपालले फलफूलमात्रै नभएर अधिकांश वस्तु आयात गरी खपत गर्दै आएको छ । जसले गर्दा नेपालको व्यापारघाटा चुलिँदो छ । नेपालको व्यापारघाटा हेर्ने हो भने बजेटको आकारभन्दा बढी छ । आन्तरिक उत्पादनमा जोड नदिँदा अधिकांश वस्तुमा परनिर्भर बन्दै गएको छ । नेपालले खाद्यान्नजन्य विभिन्न वस्तुको आयातमा अर्बौ रुपैयाँ खर्चिँदै आएको छ । त्यस्तै, नेपालले फलफूल आयातमा पनि वर्षौ अर्बौ रुपैयाँ खर्चिँदै आएको छ ।

नेपालमा मौसमअनुसार विभिन्न प्रकारका फलफूल उत्पादन हुँदै आएको छ । तर, मौसममै उत्पादन हुने फलफूलमा पनि आयातित फलफूलको दबदबाह कायमै छ । साथै, विभिन्न मौसममा उत्पादन हुने फलफूलले आन्तरिक बजारको माग धान्न नसक्दा भारत तथा चीनबाट उच्च फलफूल आयात गर्दै आएको छ ।

नेपालमा वार्षिक करिब ४५ लाख मेट्रिक टन फलफूल खपत हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । गत वर्षको आयात र उत्पादनको तथ्याङ्कले नेपालमा वार्षिक ४३ लाख ९४ हजार ६३२ मेट्रिक टन खपत भएको देखाउँछ ।

वार्षिक करिब ४५ लाख मेट्रिक टन हाराहारीमा फलफूल खपत हुँदै आएपछि उत्पादनभन्दा दोब्बर आयात गरी बजारको माग धान्दै आएको विभिन्न तथ्याङ्कले देखाउँछ ।

नेपालमा वार्षिक १३ लाख मेट्रिक टनको हाराहारीमा फलफूल उत्पादन गर्दै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालका तथ्याङ्कअनुसार गत वर्ष १४ लाख १६ हजार ७५० मेट्रिक टन फलफूल उत्पादन भएको जनाएको छ । यता बजारको माग उच्च र उत्पादन कम हुँदा आयातमै भर पर्नुपर्ने बाध्यता रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअनुसार आर्थिक वर्ष २०७७/७८ मा १३ लाख ५६ हजार २१८ मेट्रिक टन, आव २०७६/७८ मा १२ लाख ४९ हजार ७६४ र आव २०७५/७६ मा ११ लाख ७८ हजार ३५२ मेट्रिक टन फलफूल उत्पादन गरेका थिए ।

त्यस्तै, नेपालले गत वर्ष बजारको माग धान्नकै लागि २९ लाख ७७७ हजार ८८२ मेट्रिक टन फलफूल आयात गरेको देखिन्छ । नेपाल फलफूलमा भारत र चीनमा उच्च निर्भर रहेको तथ्याङ्कले उल्लेख गर्छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले ७ वर्षमा मात्रै करिब १ खर्बको फलफूल आयात गरेको देखाउँछ । नेपालले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७८/७९ सम्ममा ९० अर्ब ८५ करोड ७९ लाख ७ हजार रुपैयाँको १ अर्ब ९३ करोड ५ लाख ३९ हजार केजी विभिन्न प्रकारका फलफूल आयात गरेको छ ।

नेपालले वार्षिक १० अर्बको हाराहारीमा मात्रै फलफूल आयात गरेको देखिन्छ । नेपालले आर्थिक वर्ष २०७२/७३ मा ७ अर्ब ६१ करोड २६ लाख ७० हजार रुपैयाँको १६ करोड ६४ लाख ७९ हजार केजी विभिन्न प्रकारका फलफूल आयात गरेको छ ।

त्यस्तै, आव २०७३/७४ मा ८ अर्ब ९४ करोड ६३ लाख २२ हजार रुपैयाँको, आव २०७४/७५ मा १० अर्ब ८१ करोड ३० लाख ५३ हजार रुपैयाँको, आव २०७५/७६ मा १४ अर्ब ५९ करोड १८ लाख १३ हजार रुपैयाँ र आव २०७६/७७ मा १४ अर्ब ९० करोड ५५ लाख ७४ हजार रुपैयाँको फलफूल आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

साथै, आव २०७७/७८ मा १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको, आव २०७८/७९ मा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको र चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ अर्ब ९९ करोड १३ लाख ८७ हजार रुपैयाँको फलफूल आयात गरेको छ । समग्रमा तथ्याङ्क हेर्दा हरेक वर्ष फलफूलको आयात बट्दो क्रममा देखिन्छ । तर, चालु आर्थिक वर्षमा भने केही मात्राले कम आयात हुने तथ्याङ्कले देखाउँछ ।

फलफूलमा भारत र चीनमा निर्भर

नेपाली बजारमा पाइने अधिकांश फलफूल चीन र भारतबाट आयात हुँदै आएको छ । त्यस्तै, नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब बराबरको फलफूलको आयात गर्दा ४ अर्ब १७ लाख ५८ हजार २४ हजार रुपैयाँको ८ करोड ३ लाख ८३ हजार ३२२ केजी फलफूल भारतबाट मात्रै आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी, सोही अवधिमा चीनबाट १ अर्ब ७१ करोड ४६ लाख ६८ हजार रुपैयाँको १ करोड ८६ लाख २० हजार ९८६ केजी फलफूल आयात गरेको छ ।

उक्त देशबाहेक दक्षिण अफ्रिकाबाट ३ करोड ७६ लाख ३६ हजार रुपैयाँको, भियतनामबाट ३ करोड १७ लाख २७ हजार रुपैयाँको, युगान्डाबाट १ करोड ४९ लाख ८ हजार रुपैयाँको, ५० लाख ३४ हजार रुपैयाँको अमेरिका र २३ लाख ५४ हजार रुपैयाँको युएईबाट आयात गरेका छन् ।

कुन फलफूल कति आयात ?

नेपालले सबैभन्दा बढी केरा आयात गरेको पाइएको छ । आन्तरिक बजारमा पनि उच्च उत्पादन हुँदै आएको केरा नेपालले चालु आर्थिक वर्ष वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ४९ करोड ९५ लाख ५७ हजार रुपैयाँको आयात गरेको विभागले जनाएको छ ।

त्यस्तै, ६ महिनाको अवधिमा नेपालले ५७ करोड ९९ लाख २३ हजार रुपैयाँको अन्जिर, ४७ करोड ६० लाख ५२ हजार रुपैयाँको अम्बा, आँप, ३० करोड रुपैयाँको सुन्तला, २२ करोड ८८ लाख २८ हजार रुपैयाँको भुईं कटहर, १३ करोड ८९ लाख ७३ हजार रुपैयाँको एभोकाडो र १३ करोड ५५ लाख ६३ हजार रुपैयाँको कागती आयात गरेको छ ।

विभागअनुसार १२ करोड २२ लाख ८३ हजार रुपैयाँको खट्टे फल, १० करोड ३१ लाख ९० हजार रुपैयाँको सुकेको अंगुर, ९ करोड २० लाख १३ हजार रुपैयाँको मेवा, ८ करोड ६५ लाख ३३ हजार रुपैयाँको अंगुर, ६ करोड ८० लाख ६७ हजार रुपैयाँको खरभुजा र ५ करोड १५ लाख २९ हजार रुपैयाँको स्याउ आयात गरेको छ ।

साथै, २ करोड ५८ लाख ८७ हजार रुपैयाँको अन्य मेलोन, १ करोड ९२ लाख ५२ हजार रुपैयाँको नस्पति, डेढ करोड रुपैयाँको एप्रिकोट, १ करोड ४४ लाख रुपैयाँको आरु र कालो, सेतोलगायत अन्य बेरी २ करोड १० लाख रुपैयाँको आयात गरेको छ ।


क्लिकमान्डु