कतारमा कार्यरत नेपाली युवाले जिते ८२ करोड रुपैयाँ



तस्बिरः खलिज टायम्स

काठमाडौं । कतारमा कार्यरत एक नेपालीले चिठ्ठामार्फत ८२ कराेड नेपाली रूपैयाँ (२ करोड ३० लाख दिराम) जितेका छन् ।

नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा भएको बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम जितेका हुन् । यो रकम अहिलेको मुद्रा सटही रेटअनुसार ८२ करोड नेपाली रुपैयाँ हुन्छ ।

पाल सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा काम गरिरहेका छन् । जनवरी १६ मा उनले यहि क्रममा चिठ्ठा खरद गरेका थिए ।

चिठ्ठा जितिसकेपछि उनले भनेका छन्, ‘म एकदमै अच्चममा परेको छु । जितेको पैसा मेरो परिवारलाई नेपाल पठाइदिन्छु ।’

आफूलाई चिठ्ठामा जित हासिल भएका थाहा पाउँदा अच्चममा परेको पाल बताउँछन् ।

कतारी सञ्चारमाध्यम खलिज टायम्सले लेखेअनुसार पालले विगत १५ महिनादेखि साथीहरुसँग मिलेर चिठ्ठाहरु खरिद गर्ने गरेका थिए । २० जना साथीहरुको समूहमा उनीहरुले यस्तो गर्ने गरेको उनले बताएका छन् । र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनी बताउँछन् ।

उनी भन्छन्, ‘म अझैं आफ्नो भाग्य कस्तो छ हेर्छु । सुन, पैसा र गाडीहरु उपहारमा पाउन अझैं खेलिरहन्छु ।’


क्लिकमान्डु