रविले आफू अभिमन्यु होइन भनेको महाभारतको कथामा के छ ?



काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको उल्लेख गरेका छन् ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उपप्रधान एवं गृहमन्त्रीका साथसाथै सांसद र पार्टी सभापति पद गुमाएका लामिछानेले बिहीबार सामाजिक सञ्जालमार्फत आफूलाई केही भन्न र लेख्न मन भए गरिहाल्न आग्रह गरेका हुन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन: प्राप्तिको प्रकृया पूरा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा फेरि सभापति बनेका लामिछानेले आफू अभिमन्यू नभएको लेखेका छन् ।

सरकार साझेदार दल रास्वपाको भागमा परेको उपप्रधान एवं गृहमन्त्री बनेका लामिछाने अदालतको आदेशसँगै पद बिहीन बनेका छन् भने उनको संसद् पद पनि गएको छ ।

उनले आफूलाई पुन गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब दिइरहेपनि प्रधानमन्त्री तत्काल उनलाई गृहमन्त्री दिन चाहिरेहका छैनन् ।

एमाले अध्यक्ष केपी ओलीले रास्वपालाई गृहमन्त्रालय दिनु पर्ने बताइरहँदा प्रचण्डले भने उक्त मन्त्रालय गैर सांसद र रास्वपालाई दिन अनिच्छा देखाइरहेका छन् ।

जसका कारण पछिल्ला केही दिन यता लामिछानेको बालुवाटार र बालकोट यात्रा जारी छ ।

आफ्नो दलको भागमा परेको मन्त्रालय दिन प्रधानमन्त्रीले इन्कार गरिरहेको समयमा सामाजिक सञ्जालमा रविको आलोचना भइरहेको छ ।

सञ्चारकर्ममा हुँदा नेताहरु र गैर सांसदलाई मन्त्री बनाएको भन्दै चर्को आवाज गरेका लामिछानेमाथि आलोचकहरुले सोही प्रश्न सोझ्याइरहेका छन् ।

त्यसैक्रममा लामिछानेले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका छन् र आफू कसैको चक्रब्यूहमा नपर्ने सांकेतिक रुपमा भनिरहेका छन् ।

सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

को हुन् अभिमन्यु ?

पौराणिक कथा महाभारतका एक महत्त्वपूर्ण पात्र हुन् अभिमन्यु । पाँच पाण्डबहरुमध्येका एक र महाभारतका एक मुख्य पात्र अर्जुका पुत्र हुन् अभिमन्यु । कथामा उनको अन्त्य कारुणिक छलद्वारा भएको उल्लेख छ ।

कौरवहरुको चक्रव्यूहमा प्रवेश गरेका उनीमाथि युद्धको नियम विपरित आक्रमण भएको थियो जसका कारण उनको मृत्यु भएको कथामा उल्लेख छ ।

अभिमन्युले आमाको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य सुनेका थिए । तर अर्जुनले चक्रव्यूह भेदन गर्ने र बाहिर निस्कने उपाय बताइरहेको बेला अभिमन्युकी गर्भवती आमा सुभद्रा बिचैमा निदाएकी थिइन् जसले गर्दा अभिमन्युले व्यूह बाट बाहिर आउने विधि सुन्न पाएनन् । जसका कारण चक्रव्यूहमा फस्दा उनीमाथि कौरब फषमा महारथीहरुले युद्धको नियमको पालन नगरी बालक अभिमन्युमाथि आक्रमण गरे र उनको मृत्यु भयो ।

रवि लामिछानेले पार्टी गठन गरेको ६ महिनामा राम्रो नतिजा हात पारे । जसको बलमा उनी गठबन्धन सरकारमा उपप्रधानसहित शक्तिशाली गृहमन्त्री बने ।

आम जनजिवीकाका मुद्दा उठाएर दलले सफलता पाउँदा धेरै सरकारमा भन्दा पनि बाहिर बसेर आवाज बुलन्द पार्नु पर्ने मत राखिरहेका थिए । तर लामिछाने नेतृत्वको दल सरकारमा गयो ।

सर्वोच्चको इजलासले उनको सांसद पद खारेज गरेसँगै उनी पछिल्लो समय राजनीतिक गोलचक्कर र चक्रव्युहमा फसेको छ । अब उनले नै भनेजस्तै उनी उक्त चक्रव्युहमा परेर त्यहाँबाट सकुशलरुपमा निस्कन सक्छन् या सक्दैनन् भन्ने समयले पुष्टि गर्ने छ।


क्लिकमान्डु